काठमाडौं- प्रतिनिधि सभाबाट सांसदहरु औपचारिक रुपमा बिदा हुने दिनको निर्क्योल भइसकेको छैन। तर सांसदहरु भने संसदबाट बिदा माग्न थालेका छन्। बुधबार केही सांसदले बिदा लिए।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरु रंगमती शाही, भरत शाह, रेनुका गुरुङ र मीना पाण्डेले बिदा लिएका छन्। नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले बुधबारको शून्य समय आफ्नो कार्यकालका लागि अन्तिम दिन रहेको बताइन्।
हुम्लाकी सांसद् शाहीले कर्णालीकै खस भाषामा भनिन्, ‘निको भन्या सम्झी झाया, फुर्चो भन्या बिर्सी झाया (राम्रो बोलेकी भए सम्झिदिनु, नराम्रो बोलेकी थिएँ भने बिर्सिदिनु)।’
सांसद शाहीले कर्णालीका प्रतिनिधि भएका नाताले कर्णालीका पीडा र समस्या भन्ने क्रममा प्रधानमन्त्री, मन्त्री, सांसदहरु र पार्टीका मुख्य नेताहरुलाई घोच्ने गरी आफू बोलेको बताइन्। तर त्यसलाई व्यक्तिगत रुपमा नलिई कर्तव्य पालनाकै सिलसिलाका रुपमा बुझिदिन आग्रह गरिन्। उनले थपिन्, ‘संसद्को कार्यकालमा मबाट कुनै गल्ती भएको भए माफ गरिदिनुहोला।’
शून्य समयकै क्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भरत शाहले संसद्को समय अन्तिम अवस्थामा आइपुगेकाले अब हुने संघ र प्रदेशका निर्वाचनमा निर्वाचित भएर आउन सबैलाई अग्रिम शुभकामना दिए।
संसदमा सभामुख, उपसभामुख र कर्मचारीलाई निरन्तर संसद् सञ्चालनमा सहकार्य र सहयोग गरेकोमा पनि धन्यवाद दिएका छन्। जाँदाजाँदै उनले नागरकिता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवि भण्डारीलाई आग्रह गरे।
उनले भने, 'सम्माननीय राष्ट्रपतिकोमा नागरिकता विधेयक गएको छ। नागरिकताविहीन नागरिकको अधिकार रक्षाका लागि भए पनि प्रमाणीकरण गरेर संसद्मा पठाउनुहोला। नागरिकताविहीन भएर बाँचेका धेरै नागरिकलाई यसले ठूलो राहत दिनेछ।'
संघीय समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले पनि बुधबार आफ्ना लागि कार्यकालको अन्तिम शून्य समय भएको बताइन्। संसदीय भूमिकामा ल्याउन सहयोग गर्ने आफ्नो पार्टी संघीय समाजवादीलाई उनले धन्यवाद दिइन्।
आफ्नो पार्टी र सम्पूर्ण नेता-सांसदलाई पनि धन्यवाद दिएर बिदा भएकी उनले संसद्मा आएर धेरै सांसदबाट अगामी राजनीतिक जीवनका लागि प्रेरणादायी कुरा सिकेको स्मरण गरेकी छन्।
त्यस्तै, नेपाली कांग्रेसकी सांसद मीना पाण्डेले आफ्नो स्वास्थ्यका कारणले संसद्मा सक्रिय भूमिका निर्वाह गर्न नसकेको बताइन्। ‘अनुपस्थितिका लागि सिंगो सदन, पार्टी र सम्पूर्ण जनतामाझ क्षमायाचना गर्छु,’ उनले भनिन्।
नागरिकता विधेयकलाई राजनीतिक मुद्दा नबनाउन उनले आग्रह गरेकी छन्। अङ्गीकृत नागरिकतामा अल्झिएर नागरिकता पाउनुपर्ने नागरिकलाई बञ्चित नगर्न पनि उनले माग गरेकी छन्। 'नागरिकता नभएर नागरिकलाई मृत्युको मुखमा नपुर्याउन र राष्ट्रपतिबाट प्रमाणीरकण गर्न अनुरोध गर्छु,' उनले भनिन्।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले संसदबाट बिदा लिएका थिए। सत्तापक्षले संसदको अवधि लम्ब्याउन चालेको कदमको विरोध गर्दै उनले बिदा लिएका हुन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतको विरोधपछि सरकार पछि हटेको छ। निर्वाचन आयोगले आगामी २ र ३ गते समानुपातिकका लागि बन्द सूची पेस गर्ने कार्यतालिका बनाएको छ। त्यसअनुसार असोज १ मै प्रतिनिधिसभाको कार्यकाल सकिने सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।