काठमाडौं– महाभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्व प्रधानन्यायाधीशहरुलाई समितिमा बोलाउने भएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले बयानका क्रममा नाम लिएका पूर्व प्रधानन्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरुलाई बोलाउने निर्णय गरेको हो। समितिको बैठकपछि बोल्दै महाभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले समितिले अहिले को–कसलाई बोलाउने भनेर नाम संकलन गरिरहेको बताए।
उनले बिहीबार बस्ने समितिको बैठकमा विभिन्न समयमा अधिवक्ता, बार पदाधिकारी र पूर्व प्रधानन्यायाधीशहरुलाई बोलाउने समय निर्धारण गर्ने जानकारी दिए
उनले भने, ‘निलम्बित प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश राणाले बयानमा नाम लिएका कानून व्यवसायीहरुलाई स्पष्टीकरणका लागि बोलाउने भएको छ।
बयानमा जसको नाम लिनुभएको छ, ती कुरालाई हेरेर त्यो नाम हामी संकलन गर्दैछौँ। ती व्यक्तिहरुलाई बोलाउने समितिले निर्णय गरेको छ। बार पदाधिकारी, अधिवक्तालगायत केही व्यक्तिहरुलाई बोलाउने भन्ने कुरा भएको छ । भोलि विभिन्न समय दिएर, अधिवक्ताहरुको एउटा समय, बार पदाधिकारीको अर्को समय गरेर बोलाउने भन्ने निर्णय भएको छ। पूर्व प्रधानन्यायाधीशहरुलाई अर्को समय छ ।’
राणाले बयानका क्रममा सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।