काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ।
आफ्नो कार्यकाल पूरा गरी फिर्ता हुन लागेका राजदूत बेरीले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेका हुन्।
खुमलटारस्थित प्रचण्ड निवासमा बुधबार बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो। सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरे।
नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि प्रचणडले धन्यवाद व्यक्त गरेका छन्।
बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन्।
बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन्। उनी हाल नेपालका लागि राजदूत हुनुअघि अमेरिकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार र श्रम ब्युरोमा उपसहायक सचिव थिए। साथै, एलजीबीटीआईहरूको मानव अधिकारका लागि विदेश मन्त्रालयको पहिलो विशेष दूतका रूपमा पनि उनले काम गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।