तस्बिर : रासस
काठमाडौं– नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु बुधबार पनि उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त हुने भएका छन्। उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ।
राष्ट्रपति भण्डारीसँग उनले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैगरी बुधबार बिहान ९ : ३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गर्नेछ ।
यसअघि मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। मंगलबार दिनभर उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका लीले राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेका थिए। मंगलबार उनले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
सोमबार काठमाडौं आइपुगेका उनले सोही दिन सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए।
सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।