काठमाडौं- सरकारले निर्वाचनको संघारमा गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ। गृह सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ भने गृहमा प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याइएको छ।
सिंह ६ असारमा मात्र सचिवमा बढुवा भएका थिए। उनले लामो समय गृह प्रशासनमै काम गरेको र सुदूरपश्चिमको भएकाले गृहमा ल्याइएको स्रोतको दाबी छ।
गृहमन्त्री बालकृष्ण खाणले पाण्डेकै निरन्तरता चाहेका थिए। तर बालुवाटारको जोडबलमा विनोदप्रकाशलाई गृह सचिवमा ल्याइएको मन्त्रालय स्रोतले बतायो।
पाण्डे साउन २०७८ देखि गृह मन्त्रालयमा सचिव थिए। तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका पाण्डेलाई खाणले गृहमा ल्याएका थिए।
सोमबारकै मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ। आपूर्ति मन्त्रालयका गणेश पाण्डे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको एक सचिवले जानकारी दिएका छन्।
मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयको बारेमा पत्रकार सम्मेलनमा जानकारी दिएपनि सचिव सरुवाको विषयमा भने बाहिर ल्याएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।