काठमाडौं– सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् ।
लोक सेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त निर्देशन दिएका हुन्।
‘अब तपाईँहरुको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरुमाथि ठूलो लगानी र भरोसा गरेको छ’ मन्त्री चौधरीले भने, ‘राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईंले इमानदारीपूर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईंको पछि लाग्नेछ ।’
इन्जिनियरले पैसा नखाइ कलम नै चलाउँदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैं ध्यान दिन निर्देशन दिए । जनताले नबुझ्ने र मन दुख्ने भाषा नबोल्न समेत आग्रह गर्दै उनले भने, ‘जनतालाई पिर पर्ने काम नगर्नुस् । मन दुख्ने भाषा नबोल्नुस् । तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफूभन्दा मुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस् । राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । मेहनतले नै तपाईंहरु सचिव बन्न सक्नुहुनेछ ।’
ठूला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र पोष्टिङ भएकै ठाउँमा गएर काममा खटिन समेत मन्त्री चौधरीले निर्देशन दिएका छन् ।
इन्जिनियरिङ सेवा सिभिल समुहअन्तर्गत बिल्डिङ र आर्किटेकतर्फ ४१ र जनरल उपसमूहतर्फ १८ जना इन्जिनियरहरुलाई मन्त्रालयका सचव डा. रमेशप्रसाद सिंहले शपथ खुवाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।