काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चानशुसँगको भेटमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल र चीनबीचको सम्बन्ध सदियौंदेखि हिमालजस्तै अटल र नदीजस्तै निर्मल रहेको बताएका छन्।
मंगलबार बानेश्वरस्थित संसद भवनमा भएको भेटमा तिमिल्सिनाले उक्त धारणा व्यक्त गरेको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
‘राष्ट्रिय सभाका सम्माननीय अध्यक्षले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षवीच भएका समझदारीहरुको स्मरण गर्नुहुँदै दुई देशको सम्बन्ध सदियौंदेखि हिमाल जस्तै अटल र नदीजस्तै निर्मल रहेको र चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकोले नेपालको संवृद्धिमा पुर्याएको योगदानका लागि धन्यवाद दिनुभएको छ’ भेटमा भएको छलफललाई उदृत गर्दै सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
त्यस्तै, अध्यक्ष तिमिल्सिनाले एक चीन नीतिको नेपाल पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिवद्ध रहेको जनाएको पनि विज्ञप्तिमा भनिएको छ। विगतमा भएको बिरआई सम्झौता कार्यान्वयन, हिमाल वारपार केरुङ-काठमाडौ रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीहरुले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजनाहरु पुनःसंचालन तथा चाडवाडको समयमा बन्द रहेका तातोपानी, केरुङ, कोराला लगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न अध्यक्षले अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ। जवाफमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षले समर्थन गर्दै छिट्टै उक्त माग छिट्टै पुरा गर्ने आश्वाशन दिएको पनि उल्लेख गरिएको छ।
दुई पक्षीय वार्तामा राष्ट्रिय सभाको प्रतिनिधि मण्डलको तर्फबाट अध्यक्ष तिमिल्सिनाले नेतृत्व गरेको १८ सदस्यीय प्रतिनिधि मण्डल रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त भेटमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, गोपी बहादुर सार्की अछामी, रमेशजंग रायमाझी, डा वेदुराम भुषाल, प्रमिला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, डा विमला राई पौड्याल, खिमलाल देवकोटालगायत नेपाल सरकारका उच्च तहका कर्मचारी रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।