काठमाडौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चिनियाँ कंग्रेसका अध्यक्ष ली चानशुुलाई तातोपानी, रसुवागढी सहितका बन्द रहेका नेपाल-चीन नाका तत्काल खोल्न आग्रह गरेका छन्। मंगलबार बानेश्वरस्थित संसद भवनमा भएको भेटमा प्रचण्डले उक्त माग गरेको प्रचण्ड सचिवालयले जनाएको छ।
‘भेटमा अध्यक्षले नेपालमा दशैं, तिहारलगायतका चाडपर्व सुरू भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरू तात्काल खोल्न आग्रह गर्नुभयो,’ सचिवालयले भन्यो,‘नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नु पर्ने प्रचण्डले चिनियाँ पक्षसँग माग गर्नु भयो।’
भ्रमणमा रहेका अध्यक्ष लीले जवाफमा नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि आवश्यक पहल गर्ने बताएको सचिवालयले बताएको छ।
त्यस्तै प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउनका निम्ति चिनियाँ पक्षसँग आग्रह गरेको प्रचण्ड सचिवालयले बताएको छ। छलफलमा प्रचण्डले बीआरआई लगायतका परियोजनामार्फत भैरहेका आयोजनाहरूको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएको उल्लेख गरिएको छ।
यस्तै, अर्को महिना हुन गइरहेको चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको उपलक्ष्यमा प्रचण्डले शुभकामना दिएको उनको सचिवालयले बताएको छ।
‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं। राष्ट्रपति सी चिङफीङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस,’ प्रचण्डलाई उदृत गर्दै सचिवालयले बताएको छ। साथै प्रचण्डले एक चीन नीतिमा नेपाल प्रतिवद्ध रहेको बताएका थिए।
जवाफमा अध्यक्ष लीले नेपाल चीनको असलमित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरेको पनि प्रचण्ड सचिवालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।