काठमाडौं– महाभियोग लागेर निलम्बनमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानमा क्रममा नाम लिएका व्यक्तिहरुलाई पनि महाभियोग सिफारिस समितिले बयानमा बोलाउने भएको छ।
समितिको बयानका क्रममा राणाबाट उनीहरुको नाम आएकाले सत्य तथ्य पत्ता लगाउन पनि सम्बन्धित पक्षको कुरा सुन्नुपर्ने देखिएकोले समितिले उक्त निर्णय गरेको सांसद मिन विश्वकर्माले बताए। समितिले बुधबार राणाले आरोप लगाएका नेपाल बार एशोसिएसनका पदाधिकारी, सर्वोच्च बारका पदाधिकारी, पूर्वन्यायाधीश, राजनीतिक दलका नेताहरुलाई पनि बोलाउने निर्णय भएको विश्वकर्माले बताए।
राणाले बयानका क्रममा सर्वोच्चका न्यायाधीशको पनि नाम लिएको तर, उनीहरु संसदीय समितिमा बोलाउँदा आउन नभ्याउने भएकाले कुनै निर्णय नभएको उनले बताए। राणाले सर्वोच्च अदालका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत लगायतको नाम नै लिएर विभिन्न आरोप लगाएका थिए।
राणाले ललिता निवासदेखि न्यायाधीश नियुक्ति र महाभियोग दायर भएपछि आफूमाथि ‘बार्गेनिङ’ गरेको भन्दै केही नेताहरुको नाम लिएका थिए। राणाले आफूमाथि लागेको आरोपमा सफाइ दिने भन्दा अरुलाई आरोपित गरेर उम्किन खोजेको भन्दै आलोचना भइरहेको छ।
मंगलबार राणाको चौंथो दिनको बयान सुरु गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।