काठमाडौं– नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दुई नेताबीच भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
त्यसअघि चिनियाँ नेता लीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन्। सोमबारै सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन्। यस्तै, परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको मंगलबारै भेटवार्ता हुनेछ ।
अध्यक्ष लीले बुधबार (भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।