काठमाडौं– सरकारले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गरेका समझ्दारी र सम्झौता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको पुनः दोहर्याएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, थारु कल्याणकारी सभा/थरुहट/थारुवान संयुक्त संघर्ष समिति, स्वतन्त्र मधेस गठबन्धनलगायत तराई मधेस र अन्य क्षेत्रमा आन्दोलनरत समूहसँग विभिन्न मितिमा भएका समझदारी तथा सम्झौताहरूको कार्यान्वयनका लागि पुनः प्रतिवद्धता दोहर्याएको हो।
गृहमन्त्री बालकृष्ण खाणको सक्रियतामा समझदारी र सम्झौता कार्यान्वयनका सन्दर्भमा प्रशासनिक तथा अर्धन्यायिक प्रकृतिका बाँकी काम र मुद्दाहरूको हकमा तत्काल तत् तत् निकायबाट प्रक्रिया पुर्याई यथाशीघ्र पर्छ्याैट गर्ने गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
त्यस्तै, कानुनी रिक्तता वा अड्चनका कारण सम्झौताका कार्यान्वयन हुन बाँकी विषयहरूका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध र संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
गृहमन्त्री खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, थारु कल्याणकारी सभा/थरुहट/थारुवान संयुक्त संघर्ष समिति, स्वतन्त्र मधेस गठबन्धनलगायत तराई मधेस र अन्य क्षेत्रमा आन्दोलनरत समूहसँग सम्झौता र समझ्दारीलाई कार्यान्वयन गर्ने सन्दर्भमा पटकपटक औपचारिक अनौपचारिक छलफल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।