काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नगरी एमालेसँग चुनाव लड्ने आँट कसैको नभएको दावी गरेका छन्।
एमालेले जनकपुरमा सोमबार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले गठबन्धन नगरी एमाले पार्टीसँग चुनाव लड्ने हिम्मत र आँट कसैले नगर्न चुनौती समेत दिए।
उनले देशको हितको पक्षमा, सार्वभौमसत्ताको विषयमा, भौगोलिक अखण्डताको पक्षमा, स्वतन्त्रताको पक्षमा र राष्ट्रको पक्षमा एमालेले काम गर्ने बताए।
देशको भाग्य र भविष्य निर्माण गर्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भइरहेको बताउँदै उनले भने, 'मंसिर ४ गतेको निर्वाचनले यस देशको भाग्य र भविष्यको फैसला गर्नुपर्ने छ। यसर्थ एमालेमा आगमन अर्थपूर्ण छ। महत्वपूर्ण छ। देशको पक्षमा छ।'
ओलीले गठबन्धनले देशलाई अधोगतितिर धकेलिरहेको आरोप लगाउँदै त्यसलाई रोक्न एमालेमा प्रवेश गर्न आग्रह गरे।
ओलीले भने, 'गठबन्धनका दलहरु कमेरो माटोमा आएको पहिरो जस्तै भत्किएका छन्। आफ्ना पार्टीका कार्यकर्तालाई रोक्न सके रोक।' उनले एमालेमा बाहेकको पार्टी अब जोगाउन मुस्किल हुने दावी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।