काठमाडौं– हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।
सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले सो निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिएको औंपचारिक जानकारी गराएका हुन ।
सहमतिअनुसार नेकपा (संयुक्त)ले पनि जनता प्रगतिशील पार्टी, नेपालको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुनेछ । अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्दै अघि बढने योजना अनुसार नेकपा (संयुक्त)सँग पनि तालमेलको सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले बताए । उनले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्विकार गरेर जाने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (संयुक्त)का अध्यक्ष जोशीले समान विचारधारा भएकाले आफूहरुले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय लिएको बताए । उनले निर्वाचनपछि आउने नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पनि आफूहरुबीच सहमती रहेको बताए।
दुवै पार्टीको सहमतिमा मात्रै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नामावली तय गर्ने पनि सहमति पत्रका उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।