काठमाडौं– त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयलगायत विभिन्न प्रशासन कार्यालयमा लगाइएको ताला खोल्न आग्रह गरिएको छ। त्रिवि मातहतका आर्थिक प्रशासन, सामान्य प्रशासन, केन्द्रीय पुस्तकालयलगायतका विभिन्न १३ वटा कार्यालयले तालाबन्दी खोल्न आग्रह गरेका हुन्।
नेपाल विद्यार्थी संघले त्रिविमा विभिन्न माग राखेर केन्द्रीय कार्यालयलगायत विभिन्न विभाग र डीन कार्यालयहरुमा तालाबन्दी गरेको छ। तालाबन्दीका कारण त्रिविमा शिक्षक, कर्मचारीहरुको असार मसान्तदेखिको तलब भत्ता रोकिनुका साथै आर्थिक प्रशासनिक काममा बाधा पुगेका कारण तालाबन्दी खोल्न आग्रह गरिएको हो। दशैँ तिहार जस्तो महान चाडबाड नजिकिँदै गर्दा कर्मचारीहरुले तलब नपाएको भन्दै विज्ञप्तिमार्फत ताला खोल्न आग्रह गरिएको छ।
सेवा निवृत्त शिक्षक, कर्मचारीहरुको पेन्सन नपाएको,विद्यार्थी लगायतका सेवाग्राहीहरुको सेवामा अवरोध पुगेका कारण तालाबन्दी खुलाउन विज्ञप्तिमा भनिएको छ। सोमबार मात्रै नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष डुजाङ सेर्पाले नेपाल विद्यार्थी संघ त्रिविका समितिहरु खारेज भएको भन्दै विज्ञप्ति जारी गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।