काठमाडौं- यतिखेर धेरैको मनमा उब्जिएको जिज्ञासा हो- नागरिकता विधेयक जारी हुन्छ कि राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिन्छिन्?
केही समयअघि नै राष्ट्रपति भण्डारीले १५ बुँदे टिप्पणी गर्दै फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउन लागेकाले राजीनामा दिने हल्ला चलेको थियो।
यही हल्लाकै बीचमा संघीय संसदको दुवै सदनबाट नागरिकता सम्बन्धी विधेयक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको एक साता पुगेको छ।
संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको समितिमा पुगेर पारित भएको विधेयक भदौ २० गते राष्ट्रपति कार्यालय पुगेको थियो। राष्ट्रपतिलाई संविधानले १५ दिनसम्म विधेयकमा अध्ययन गर्ने समय दिएको छ। उक्त समयसम्म उनले उक्त विधेयक ‘होल्ड’ गर्न सक्नेछिन्।
उक्त अवधि असोज ४ गते सकिन्छ। त्यसपछि भने राष्ट्रपतिले निकास दिनुपर्ने हुन्छ। नत्र यो विवाद अदालत जाने देखिन्छ। यदि राष्ट्रपतिको कदम सर्वोच्चले असंवैधानिक ठहर गरेमा उनी विवादमा तानिनेछिन्।
राष्ट्रपतिसँग के विकल्प छ?
संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा २ मा प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासक्य चाँडो दुवै सदनलाई दिनुपर्ने भनिएको छ।
त्यसैको उपधारा ३ मा पुनर्विचार आवश्यक छ भन्ने लागेमा १५ दिनभित्र फिर्ता पठाउन सक्ने भनिएको छ। यो पहिलो पटक मात्र गर्न सकिने संविधानमा स्पष्ट लेखिएको छ। नागरिकता विधेयकमा राष्ट्रपतिले यो अधिकार प्रयोग गरिसकेकी छन्।
संविधान अनुसार, पहिलो पटक सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपतिले १५ दिन ‘होल्ड’ मा राखेर सदनलाई फर्काउन सक्छिन्। दोस्रो पटक उनलाई १५ दिन ‘होल्ड’ गर्ने अधिकार त छ, फिर्ता पठाउने अधिकार छैन। सोही धाराको उपधारा ४ ले उक्त कुरामा राष्ट्रपतिलाई बाँधेको छ।
राष्ट्रपतिले एक सातादेखि विचाराधीन राखेको विधेयक अब एक साता होल्डमा राख्न पाउने त्यसपछि जारी गर्नुपर्ने संवैधानिक कानुनका जानकारहरुको तर्क छ। तर राष्ट्रपति भण्डारी आफूले टिप्पणी गरेर पठाएको विधेयक जस्ताको तस्तै ल्याएकोमा असन्तुष्ट छिन् ।
राष्ट्रपतिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भदौ १६ गतेको बैठकमा पनि त्यही संकेत गरेकी थिइन्। सत्ता गठबन्धनका अर्का नेता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितको भेटमा भदौ २३ गते पनि उनले उक्त कुरा दोहोर्याएकी थिइन्।
उनले नागरिकता ऐन छिट्टै बन्नुपर्ने पक्षमा आफू पनि रहेको तर सबै विषयमा राजनीतिक दलहरुका बीचमा सहमति गरेर दीर्घकालीन हुने गरी जारी गर्नुपर्ने पक्षमा रहेको बताएकी थिइन्।
त्यस्तै उनले नागरिकता विधेयकमा सत्तापक्षले जस्ताको तस्तै पारित गर्ने भनी दलगत रुपमा छलफल गरेकोप्रति असन्तुष्टि जनाइन्। यादवसँग उनले नागरिकता विधेयक दोस्रो पटक आए पनि आफू खुरुक्क छाप लगाउने पक्षमा नरहेको संकेत उनले दिएको यादवसँग भेटमा रहेका अर्का नेताले बताए। राष्ट्रपतिसँग भएको कुराबारे यादवले सत्तापक्षको बैठकमा पनि सुनाएका थिए।
राष्ट्रपतिले एकपछि अर्को व्यक्तिलाई भेटेर नागरिकता विधेयकमा आफू विकल्प खोजिरहेको संकेत गरिरहेकी छन्। तर संवैधानिक कानुनका जानकारहरुले राष्ट्रपतिसँग कुनै पनि विकल्प नभएको टिप्पणी गरिरहेका छन्।
वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलले दोस्रो पटक प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्दिनँ भन्न पाउने संवैधानिक व्यवस्था नै नभएको बताए। ‘विधेयक सही या गलत त्यसको फैसला जनताले मंसिर ४ मा गर्लान् तर राष्ट्रपतिबाट संविधानको उल्लंघन भयो भने निर्वाचनबाट पनि सच्याउन सकिने छैन,’ उनले भने, ‘यदाकदा संवैधानिक मर्यादाका कारण आफूलाई लागेको कुरा पनि गर्न पाइँदैन।,’
राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयकमा भएको लागे पनि संविधानभन्दा बाहिर जान नसक्ने उनको कथन थियो।
अर्का वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनि राष्ट्रपतिसँग अब विकल्प नभएको बताए। ‘राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जस्तो पारित भयो, त्यस्तै प्रमाणीकरण गर्नुपर्छ। त्यो संवैधानिक बाध्यता हो’, संविधानविद् ज्ञवालीले भने, ‘संविधान उल्लंघन नै भयो भने पनि उहाँले ‘नो’ भन्न पाउनुहुन्न।’
प्रमाणीकरण भएको विधेयकको जस र अपजस लिने काम सरकार र संसद्को हुने उनले बताए। भोलि निष्पक्ष भएन, संविधानको गम्भीर उल्लंघन भयो भनेर रिट दायर भएमा सरकार र संसद्लाई न्यायिक पुनरावलोकन लाग्ने तर राष्ट्रपतिलाई मुद्दा नलाग्ने उनले बताए।
संवैधानिक राष्ट्रपतिले एक पटक सन्देशसहित पठाइसकेको कारण राष्ट्रपतिले त्यसको जस/अपसज अब सरकारको हुने उनको तर्क छ।
विकल्प खोज्दै राष्ट्रपति तर विवाद अदालतसम्म पुग्ने संकेत
राष्ट्रपति विद्यादेवि भण्डारीले एक सातासम्म विधेयकका बारेमा कुनै पनि निर्णय नगर्नुले यो थप विवादित हुँदै अदालतसम्म पुग्ने आशंका गठबन्धनका नेताहरु नै गर्न थालेका छन्।
सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै यो न्यायिक पुनरावलोकनका लागि सर्वोच्च जाने बताएका छन्। उनले केही दिनअघि पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु बाहेक संविधानमा विकल्प नभएको र यदि प्रमाणीकरण नगरेमा अदालत जाने बताएका हुन्।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि भएको भन्दै उनले भनेका थिए, ‘त्यसो हुँदा त एउटा पक्ष अदालत जान्छ। दोस्रो चाहिँ, उहाँले प्रमाणीकरण गर्नु भएन भने राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ। तर, यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुन्छ।’
तर, राष्ट्रपतिले भने ‘विकल्प’ खोज्ने प्रयत्न थालिरहेको उनकै सचिवालयका सदस्यहरु बताउँछन्। राष्ट्रपतिको सचिवालयका एक सदस्य भन्छन्, 'सर्वोच्चको राय लिने तयारी छ।’
शीतल निवास बसेर विकल्प खोज्दै राष्टपति
संविधानको धारा ११३ हेर्दा राष्ट्रपतिसँग विकल्प नदेखिएको कानुनविदहरुले तर्क गरिरहँदा राष्ट्रपतिले भने शीतल निवासमा बसेर विकल्पको खोजी गरिरहेकी छिन्। उनले राजनीतिक दलका नेतादेखि आफू निकट कानुन व्यवसायीसँग समेत छलफल गरेर विकल्पको खोजी गरेकी छन्।
राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जे भए पनि संविधानभित्र रहेर हुने बताए। राष्ट्रपति कार्यालय अहिले छलफलमै रहेको र संविधानले दिएको मर्यादा र समयसीमाभित्र निर्णय गर्ने उनले बताए।
‘राष्ट्रपति कार्यालयले संविधानको सीमा र नागरिकता विधेयकको बारेमा परामर्श गरिरहेको छ,’ उनले भने, ‘तोकिएको समयमा उचित निर्णय हुन्छ।’
उनले यस्तो दावी गरे पनि राष्ट्रपतिले भने पछिल्लो समय सर्वोच्चसँग पनि अनौपचारिक परामर्श गरेकी छन्। परामर्शका लागि पठाउने सकिने कि नसकिने भन्ने विषयमा सर्वोच्चबाट सकिने सुझाव आएको राष्ट्रपति कार्यालय स्रोतले बतायो।
‘आफूबाट गरिने निर्णय संविधान अनुरुप र विवादरहित हुनुपर्छ भन्नेमा उहाँ सचेत हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो, ‘कतिपय निर्णयले राष्ट्रपतिविरुद्ध अदालतमा मुद्दा समेत पर्न सक्ने कुराहरुको पनि ख्याल गरेर अघि बढ्नुपर्ने देखिएको छ।’
अहिले राष्ट्रपतिलाई उक्साउनेदेखि आलोचना गर्नेसम्म सक्रिय रहेकाले के गर्दा विवादरहित हुन्छ, त्यही अनुसार अघि बढ्ने मुडमा राष्ट्रपति रहेको स्रोतले बतायो। असोज ४ गतेसम्म समय भएकाले त्यसअघि केही नहुने स्रोतको दावी छ।
‘अन्तिम समयमा राष्ट्रपतिले कसरी अघि बढ्ने भनेर निर्णय लिनु हुनेछ,’ सचिवालय स्रोतले भन्यो, ‘हल्ला त अनेक छन्। विगतमा पनि राजीनामा दिने हल्ला चलेकै हो।’
२०५८ सालमा तत्कालीन राजा वीरेन्द्रले नागरिकता विधेयकको सन्दर्भमा सर्वोच्च अदालतसँग राय लिएका थिए।
राष्ट्रपतिसँग भएको अर्को विकल्प हो, मौन बस्ने। असोज ४ गतेसम्म नागरिकता विधेयकमा निर्णय गर्नुपर्ने भएकाले उक्त अवधि र त्यसपछि पनि मौन रहन सक्ने अर्को विकल्प देखिन्छ।
राष्ट्रपतिले यो विकल्पबारे पनि छलफल गरेकी थिइन्। तर यसो गर्दा सर्वोच्चमा मुद्दा जाने र विधेयक रोक्ने अधिकार छैन भनी आदेश भएमा तत्कालीन समयमा विवादमा परिने हो कि भन्ने राष्ट्रपतिको चिन्ता छ।
दोस्रो कार्यकालको अन्तिम समयमा विवादित हुनुभन्दा बरु पदबाट अलग हुने विषयमा पनि राष्ट्रपतिले केही कानुनविदहरुसँग परामर्श गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।