दाङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचन जाने बताएका छन्।
आइतबार प्रेस चौतारी नेपाल दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले एमालेले जनसरोकारका विशेष मुद्दासहित निर्वाचनमा होमिने बताएका हुन्।
महासचिव पोखरले जनसरोकारका चार मुद्दाहरुमा स्वाधिनता, स्वाभिमानको मुद्दा, विकास र समृद्धिका मुद्दा, सामाजिक सुरक्षासहित लोक कल्यानकारी राज्य निर्माण र आगामी नेपाललाई कुन बाटो अगाडि बढाउने भन्ने प्रमुख मुद्दाहरुलाई अघि सारेर निर्वाचनमा होमिने बताएका हुन्।
उनले एमालेले उक्त चार मुद्दामा अन्य पार्टीभन्दा अग्रणी भूमिका खेलेको बताए। पहिलो मुद्दामा एमालेले नेपालमा जातीय राज्य स्थापना गर्न नदिएको, नाकाबन्दीको सामना गरेको र नेपालको गुमेको भू–भाग नक्सामा समावेश गर्न संविधान नै संशोधन एमालेले गरेको पोखरेलले दाबी गरे।
पोखरेलले आगामी मंसिर ४ गतेको निर्वाचन यथास्थितिवादी र परिवर्तनवादी शक्तिबीच प्रतिस्पर्धा हुनेपनि बताए। उनले गठबन्धन दलहरु यथास्थितिवादमा रहेको आरोप लगाउँदै एमाले परिवर्तनकारी शक्तिको रुपमा रहेको जिकिर गरे।
पोखरेलले कांग्रेसले नीतिगत शक्ति गुमाएर अन्य साना दलसँग गठबन्धन गरेको आरोप समेत लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।