काठमाडौं– महाभियोग प्रस्ताव आएपछि निलम्बनमा रहेको सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको चौंथो दिनको बयान सकिएको छ।
महाभियोग सिफारिस समितिले आइतबार ११ नम्बर प्रश्नबाट सुरु गरेर ३५ नम्बरसम्म राणाको बयान लिएको छ। आइतबार मध्यान्ह साढे १२ बजेदेखि सुरु हुने भनिएको उनीसँगको बयान २० मिनेट ढिलो गरी सुरु भएको थियो।
अर्को बैठक मंगलबार ११ बजेका लागि राखिएको छ। उक्त दिनमा ८ प्रश्न सोध्दै सांसदहरुको प्रतिप्रश्नमा जवाफ लिने समितिको तयारी रहेको छ। समितिले उक्त दिन प्रतिप्रश्न समाप्त भएमा बुधबार र बिहीबार प्रतिवेदन तयार गरि संसद्मा पठाउने तयारी गरेको छ।
समितिले मुख्यरुपमा सर्वोच्चमा विचौलियाको प्रवेशदेखि भवन निर्माणमा अनियमितता भएको कुरामा प्रश्न गरिएको थियो। समितिको प्रश्नमा जवाफ दिँदै राणाले आफूले कुनै पनि गल्ती नगरेको दाबी गरेका छन्।
यसअघिकै बयानझैं राणाले आफूले महाभियोग लाग्ने कुनै पनि कार्य सर्वोच्चमा बसेर नगरेका दाबी गरेका छन्। गत फागुन १ गते सत्ता पक्षका ९८ सांसदले २१ आरोप लगाउँदै राणाविरुद्ध महाभियोग दायर गरेका थिए।
महाभियोग दायर भएपछि ६ महिनादेखि राणा निलम्वनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।