काठमाडौं– चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौति ३–० ले पन्छाउँदै साविक विजेता भारतले नेपालमा मंगलबारदेखि सुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ‘ए’को पहिलो खेलमा साविक विजेता भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
सुरुआतबाट नै पाकिस्तानमाथि दबाब दिएर खेलेको भारतले पाकिस्तानबिरुद्ध सुरुआति अग्रता भने उपहार गोलबाट लिएको थियो।
खेलको २१औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोलपछि भारतले १–० को अग्रता बनाएको थियो। पाकिस्तानका लागि डेब्यु खेलाडी कप्तान मारिया खानले रक्षापंक्तिमा रोक्ने क्रममा आफ्नै पोस्टमा गोल भएको थियो। त्यसको दुई मिनेटपछि ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २–० ले अगाडि बढाउन सफल भएकी थिइन्।
त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गरेपछि भारतले ३–० को अग्रता लिन सक्यो। सोही नतिजा अन्तिमसम्म रहँदा भारतले जारी प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
यस जितसँगै समूह ‘ए’को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ। पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। विजयी भारतले अब दोस्रो खेल शनिबार माल्दिभ्सबिरुद्ध खेल्ने छ भने सोही दिन पाकिस्तानले बंगलादेशको सामना गर्नेछ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ‘ए’मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन्।
यस्तै, समूह ‘बी’मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ। समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल असोज ३ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।