दाङ- दाङमा मानव बेचबिखनका घटना बढेको देखिएको छ। जिल्ला प्रहरी कार्यालय दाङमा बितेको पाँच वर्षमा मानव बेचबिखनका १३ वटा मुद्दा दर्ता भएका छन्।
दर्ता भएका १३ मुद्दाहरुमा १५ जना पीडित भएका छन्। उनीहरुमध्ये आर्थिक वर्ष २०७५/०७६ मा ३ जना, आर्थिक वर्ष २०७६/०७७ मा १ जना, आर्थिक वर्ष २०७७/०७८ मा ५ जना, आर्थिक वर्ष २०७८/०७९ जनामा ५ जना र चालु आर्थिक वर्ष १ जना पीडित भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए।
पाँच वर्षको अवधिमा प्रहरीले मुद्दा परेका १८ पीडकहरुमध्ये १३ जनालाई पक्राउ गरेको छ भने बाँकी पक्राउ पर्न सकेका छैनन्। प्रहरी प्रमुख वलीले प्रहरीमा मुद्दा परेकामध्ये ११ वटा फर्छ्योट भएको र २ वटा मुद्दा अनुसन्धानका क्रममा रहेको जानकारी दिए।
एसपी वलीका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ३ वटा, आर्थिक वर्ष २०७५/०७६ मा ३ वटा, आर्थिक वर्ष २०७६/०७७ मा १ वटा, आर्थिक वर्ष २०७७/०७८ मा २ वटा, आर्थिक वर्ष २०७८/०७९ मा ३ वटा र चालु आर्थिक वर्षको करिब डेढ महिनाको अवधिमा एक वटा मानव बेचबिखन तथा ओसार–पसारको मुद्दा जिल्ला प्रहरी कार्यालय दाङमा दर्ता भएका छन्।
पछिल्लो पाँच वर्षको तथ्यांकलाई हेर्दा सीमावर्ती क्षेत्र भारतसँग जोडिएकाले दाङमा मानव बेचबिखन तथा ओसार–पसार अपराध बढ्दो अवस्थामा रहेको प्रहरीको तथ्यांकले देखाउँछ।
मानव बेचबिखनका अधिकांश घटनाहरुमा शिक्षित व्यक्तिहरुले गरेको र उनीहरुले आर्थिकरुपमा कमजोर घर–परिवारका मानिसहरुलाई बिक्री गर्ने गरेको प्रहरी प्रमुख वलीको भनाई छ। ‘मानव बेचबिखनको पाँच वर्षको अवस्थालाई विश्लेषण गर्दा दाङमा बेचबिखनको अवस्था झनै बढ्दै गएको छ’, प्रहरी प्रमुख वलीले भने, ‘बेचबिखनको कार्यमा अधिकांश शिक्षित परिवारका मानिसहरु संलग्न छन्।’
उनका अनुसार बेचिनेहरु अधिकांशलाई यौन शोषण तथा वेश्यावृत्तिमा लगाइने गरिएको पाइएको छ।
त्यसका साथै पछिल्लो समय विभिन्न आर्थिक प्रलोभन पारेर मोटो रकम लिएर दलालहरुले युवा तथा युवतीहरुलाई खाडी मुलुकदेखि युरोप तथा अमेरिकासम्म पुर्याउने गरिरहेकाले मानव बेचबिखन विषयमा समुदायस्तरसम्मै सचेतना आवश्यक रहेको वलीले बताए।
उनका अनुसार नेपालबाट प्रत्येक वर्ष ५ देखि १० हजार महिला तथा बालबालिका बेचिएर भारत पुग्ने गरेको प्रहरीको तथ्यांक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।