काठमाडौं– संवैधानिक पदको दुरुपयोग गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर ‘भगाएका’ ठगी मुद्दाका फरार अभियुक्त रिजवान आलम पक्राउ परेका छ्न्।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको हो। रिजवानलाई शुक्रबार बिहान अन्सारीले योजनाबद्ध रूपमा भगाएर मेरियट होटल पुर्याएका थिए।
शुक्रबार फ्लाई दुबईको विमानबाट नेपाल मुस्लिम आयोगको निमन्त्रणमा दुबईबाट केही भीआईपी आउँदै थिए। सोही विमानबाट काठमाडौं ओर्लिएका रिजवानलाई अन्सारीले भीआईपीहरूकै समूहमा मिसाएर भीआईपी कक्षमा लगेका थिए।
अध्यागमन कार्यालयले रिजवानको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक गर्दा उनी ‘कालोसूची’मा रहेको खुलेपछि उपस्थित गराइदिन भीआईपी कक्षलाई भनेको थियो। तर, पासपोर्टमा ‘अराइभल’ छाप नलाग्दै अध्यक्ष अन्सारीले उनलाई आफ्नै गाडीमा राखेर विमानस्थलबाट भगाएका थिए।
दाउद हुसेनलाई ठगी गरेको मुद्दामा रिजवानविरुद्धको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। छोरालाई दुबईमा पाइलट पढाइदिने भन्दै उनले हुसेनसँग एक करोड ६८ लाख रुपैयाँ लिएका थिए। तर, उनले नपढाउने व्यवस्था गरे न पैसा फिर्ता।
अदालतले रिजवानविरुद्ध गत फागुनमै पक्राउ पुर्जी जारी गरेको थियो। तर, उनी पक्राउ परेका थिएनन्। प्रहरीले फरार अभियुक्तका रूपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो। रिजवानलाई पक्राउ गर्न प्रहरीले इन्टरपोललाई समेत पत्राचार गरेको थियो।
यो मुद्दामा रिजवानका बुबा रमाजानलाई भने प्रहरीले पक्राउ गरेको थियो। उनी अदालतको आदेशपछि २५ लाख धरौटी तिरेर एक महिनाअघि छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।