काठमाडौं– राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक हुनेभएको छ।
जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट संकलित तथ्याङ्क प्रशोधन गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ। केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको र अब बागमती प्रदेशको भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र रहेको जानकारी दिए।
विभागले तथ्याङ्क प्रशोधनका क्रममा १२ कक्षा उत्तीर्ण गरी कम्तीमा तीन महिना कम्प्युटर तालिम लिएका ४०० नेपाली नागरिकलाई नियुक्त गरी गत चैत महिनादेखि काम गर्दै आएको छ। प्रत्येक सिफ्टमा २०० जनाका दरले हरेक दिन बिहान ६ः३० बजेदेखि दिउँसो १२ः३० बजेसम्म छ घण्टा र त्यसपछि बेलुका ६ः३० बजेसम्म प्रशोधनको काम विभागको केन्द्रीय कार्यालय, थापाथलीमा भइरहेको छ। पहिलोपटक यसरी विभागमा भएको प्रशोधनको काम आगामी असोज महिनामा सम्पन्न हुनेछ।
निर्देशक लामिछानेले प्रशोधन कार्यमा खटिने जनशक्तिलाई कम्प्युटरमा एक अङ्क प्रविष्ट गरेवापत तीन पैसाका दरले पारिश्रमिक दिने गरेको बताए। विभागको प्रत्यक्ष निगरानीमा प्रशोधनकार्य भइरहेको र कम्प्युटर छिटो चलाउने प्रशोधनकर्ताले महिनामा रु ५० हजारसम्म पारिश्रमिक बुझ्ने गरेको विभागले जनाएको छ। यसअघि गणक र सुपरभाइजरको भूमिका निर्वाह गरेका अनुभवी व्यक्तिलाई प्रशोधन प्रक्रियामा प्राथमिकता दिइएको छ।
राष्ट्रिय जनगणनाका क्रममा केही विवरण छुटेको वा कमीकमजोरी भएको भनी विभिन्न जात, जाति, वर्ग, समुदायको तर्फबाट सुझावसहित विभागमा निवेदन परेकाले त्यसतर्फ आवश्यक छानविन गरी मतगणना प्रक्रियालाई अन्तिमरूप दिन विभाग लागिपरेको छ।
राष्ट्रिय योजना आयोगका सचिवको अध्यक्षतामा जात, जाति, धर्म, समुदायसम्बद्ध संवैधानिक आयोगसहित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सदस्य रहने समितिले उजुरी÷निवेदनका बारेमा छानबिन गरी निर्णय गर्ने कानूनी व्यवस्था रहेको निर्देशक लामिछानेले जानकारी दिए।
उक्त प्रक्रिया पूरा भएपछि जारी राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा विभागले सार्वजनिक गर्नेछ।
हरेक १० वर्षमा एकपटक हुने जनगणनाको शृङ्खलामा राष्ट्रिय जनगणना, २०७८ नेपालको १२औं र २०७२ को संविधान जारी भएपछि सङ्घीय गणतान्त्रिक प्रणालीको पहिलो गणना हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।