काठमाडौं– लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि सहयोग आदानप्रदान गर्ने भएको छ।
सहयोग आदानप्रदान गर्ने उद्देश्यले उद्योग मन्त्रालय मातहतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझ्दारी भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूको उपस्थितिमा शुक्रबार १२ बुँदे समझदारी भएको हो। समझदारीपत्रमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका निर्देशक विष्णु भुसाल र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे।
समझदारीअनुसार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रले संयुक्त प्रयासमा लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासका क्षेत्रमा सहयोग आदानप्रदान गर्नेछन्। समझदारीअनुसार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले प्रविधिको अध्ययन, अनुसन्धान तथा नवप्रवर्तन र विकासका लागि प्रोत्साहन गर्न चालु आवमा आविष्कार केन्द्रलाई रु ४० लाख अनुदान उपलब्ध गराउनेछ।
आविष्कार केन्द्रले प्रविधिको अध्ययन, अनुसन्धान र विकासको प्रगति नियमितरुपमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रलाई जानकारी गराउनेछ। राष्ट्रिय आविष्कार केन्द्रबाट विकास भएको प्रविधिको गुणस्तर परीक्षण, बजारीकरण र प्रदर्शन गर्न दुवै पक्षले आवश्यक समन्वय र सहयोग गर्ने सहमति भएको छ।
नेपालमा परम्परागतरूपमा प्रयोग हुँदै आएका रैथाने प्रविधिको पहिचान, अभिलेखीकरण र अद्यावधिक तथा परिमार्जन गर्न सहकार्य गरिने, आविष्कार केन्द्रले प्रविधि विकासका क्षेत्रमा नीति निर्माण कार्यमा पृष्ठपोषण उपलब्ध गराउनसक्ने समझदारीपत्रमा उल्लेख छ। दुई पक्षबीच भएको सो समझदारी २०८० साल असार मसान्तसम्म कायम रहनेछ।
सो अवसरमा उद्योगमन्त्री बडूले लघु तथा घरेलु उद्योगका सीप तथा प्रविधिको साटासाट गरेर सरकार र निजी क्षेत्रबीच सहकार्य गर्ने उद्देश्यले सम्झौता गरिएको बताए।
सात वटै प्रदेशमा ‘विजनेश इन्कुवेसन सेन्टर’ सञ्चालन गर्ने सरकारको योजना रहेको जानकारी दिँदै उनले यसले उद्यमीको संख्या बढ्ने र रोजगारी सिर्जना हुने बताए।
आविष्कार केन्द्रका अध्यक्ष पुनले घरेलु उद्योगलाई आवश्यक प्रविधि विकास गर्न समझदारीले सहयोग गर्ने बताए। आगामी वैशाखभित्रमा लघु, घरेलु तथा साना उद्योगलाई आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका काम सम्पन्न गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।