फाइल तस्बिर
काठमाडौं– नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप (फुटबल प्रतियोगिता) का लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ। अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ। प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधिको खडेरी तोड्ने दाबी गरे।
दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुँदैछ। त्यसका लागि भुटान र पाकिस्तानी टोली नेपाल आइपुगेका छन् भने केही टोली आउने तालिका नजिकिँदै छ। नेपाली टोली भने घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा उपाधि उचाल्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको छ। प्रतियोगिता सुरु हुन अब १ हप्ता मात्र बाँकी छ।
साफ प्रतियोगिताका लागि अन्तिम टोलीको नाम पनि सार्वजनिक भइसकेको छ। नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना चोटका कारण बाहिरिन पुगेका छन् भने रेखा पौडेलले टिममा पुनरागमन गरेकी छन्। नेपाली टोलीलाई नियमिति प्रशिक्षण गराइरहेका प्रशिक्षक कुमार थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको दाबी गरे।
७ हप्ता लामो प्रशिक्षणको क्रममा विविध बाधाहरु भएपनि टोलीलाई मजबुत बनाउने प्रयास गरेको थापाको भनाइ छ। कमभन्दा कम गल्तीहरु गर्नेमा आफू केन्द्रित भएको र गोल गर्ने रणनीतिका साथ टोलीलाई मैदान उतार्ने उनको भनाइ छ।
यो संस्करणमा पाकिस्तान पनि समावेश भएको छ। अघिल्लो संस्करणमा प्रतिबन्धका कारण सहभागी हुन नपाएको पाकिस्तानी टोलीले मजबुत प्रदर्शन गर्ने धेरैको आकलन छ।
घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी राम्रो भइरहेको र उपाधि जित्नेमा विश्वस्त भएको नेपाली खेलाडीको भनाइ छ।
महिला साफको १२ वर्षे इतिहासमा नेपाल पटकपटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन। महिला साफका ५ संस्करणमा नेपाल ४ पटक उपविजेता बनेको छ। पाँचै पटक भारतले उपाधि जितेको छ। सन् २०१६ को महिला साफमा मात्र नेपालले फाइनल खेलेको थिएन।
भदौ २१ देखि असोज ३ गतेसम्म हुने प्रतियोगिताको नेपाल समूह ‘बी’ मा छ। नेपालसँगै समूह ‘बी’ मा भुटान र श्रीलंका छन्। यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्। नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। समूहचरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिताको पाँचौं संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो। उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामै सीमित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।