इस्लामाबाद (बिबिसी) – पाकिस्तानमा तीन सातादेखि उकालो लागेको टमाटरको भाउमा नियन्त्रण कायम गर्न सकिएको छैन । जसका कारण उपभोक्ता प्रभावित भएका छन्।
टमाटरको भाउ बढेसँगै सर्वसाधारणको भान्सामा यसको प्रयोग कम हुन थालेको छ । इस्लामावादकी एक गृहिणी नसरीन आफताबले भन्छिन्, ‘हामी दिनहुँ सय रुपैयाँभन्दा बढी तरकारीमा खर्च गर्न सक्दैनौं । घरमा ६ जनाको परिवारलाई दुईदेखि पाँच सयसम्म खर्च भइरहेको छ । यस्तो अवस्थामा प्रतिकिलो २ सय ५० रुपैयाँभन्दा बढीमा टमाटर खरिद गर्नु असम्भव छ।’
अर्की गृहिणी गुल फिशा भन्छिन्, ‘टमाटरले हाम्रो पूरै बजेट प्रभावित पारिसकेको छ । टमाटर भएन भने केटाकेटीले खाना खाँदैनन् । यसैले खर्च बढाएर थोरै भए पनि टमाटर किन्नु परिरहेको छ।’
मूल्य बढ्नुको कारण
गुल फिशाका अनुसार यति लामो समय अन्य तरकारीको मूल्य अहिलेसम्म बढेको थिएन । उनी सरकारलाई छिटो टमाटरको मूल्य नियन्त्रण गर्न आग्रह गर्छिन्।
पाकिस्तानको विभिन्न शहरमा तरकारी बजारको भाउ नियाल्ने व्यक्तिहरुका अनुसार गत सोमबारदेखि टमाटरको मूल्य २ सय १० देखि ३ सय रुपैयाँसम्म पुगेको छ । पाकिस्तानमा टमाटरको यति उच्च मूल्य अहिलेसम्म नसुनिएको उनीहरु बताउँछन्।
अखिल पाकिस्तान फ्रुट एन्ड भेजिटेबल बजारका अध्यक्ष मलिक सोनी भन्छन्, ‘पाकिस्तानमा सबैभन्दा बढी प्रयोग हुने तरकारीमा टमाटर पर्छ । यहाँ प्रतिदिन २ हजार टन टमाटर खपत हुन्छ।’
उनले पछिल्लो सिजन सिन्धको विभिन्न जिल्ला र खैबर पख्तुनमा टमाटरको उत्पादन घटेको बताए । पाकिस्तानले अन्य महिना बाहिरबाट टमाटर आयात नगरे पनि अगस्टदेखि अक्टुबर महिनासम्म अफगानिस्तानबाट कम भएको टमाटर मगाउने गरेको छ।
तर, यो वर्ष अफगानी बोर्डर राम्रोसँग सञ्चालनमा आउन नसक्दा यसको असर टमाटरको मूल्यमा देखिएको उनी बताउँछन् । मलिक भन्छन्, ‘धेरै पल्ट अफगान सीमा बन्द भयो। जसका कारण आपूर्तिमा समस्या देखियो।’
पाकिस्तानमा प्रतिदिन ५० ट्रक टमाटर आवश्यक पर्ने बताउँदै मलिक भन्छन्, ‘१० ट्रक मात्र अफगान बोर्डरबाट आयात भइरहेको छ।’
तत्कालै पाकिस्तानमा टमाटरको मूल्य घट्ने सम्भावना न्यून रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।