काठमाडौं– रोमाले इटालियन सिरी ए मा मोन्जामाथि सहज जित हात पारेको छ। मंगलबार राति सम्पन्न खेलमा रोमाले मोन्जालाई ३-० गोल अन्तरले पराजित गरेको हो।
रोमाको जितमा पाउलो डिबालाले २ गोल गरे। यता, रोजर इबानेजले एक गोल गरेका थिए।
खेलको १८औं मिनेटमा गोल गर्दै डिबालाले घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए। यस्तै, ३२औं मिनेटमा उनैले गोल गर्दै अग्रता दोब्बर बनाए।
पहिलो हाफमा दुई गोल गरेको रोमाले दोस्रो हाफमा भने थप एक गोल गरेको थियो।
६१औं मिनेटमा रोमाका लागि इबानेजले गोल गरे। त्यसपछि दुवै टोलीले केही मौका सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेनन् र रोमा ३-० ले विजयी भयो।
जितपछि रोमा इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ। रोमाको ४ खेलमा १० अंक रहेको छ।
यता, पराजित मोन्जाले भने अंकविहीन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।