काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभामा ‘सी’ डिभिजन लिगका क्लबहरुबाट यसअघिकै प्रतिनिधिले निरन्तरता पाउने भएका छन्।
मंगलबार एन्फाका महासचिव किरण राईले एन्फाको निर्वाचन कमिटीले निर्वाचनमा मताधिकार प्राप्त संस्थालाई नै प्रतिनिधित्व गराउन निर्देशन दिएको बताउँदै क्लबहरुलाई चिठ्ठी लेखेका हुन्।
यसअघि असोज १२ गते हुने विशेष साधारणसभाका लागि भदौ १४ गते (आज) १ बजे ‘सी’ डिभिजन लिगका क्लबमध्ये ९ वटा छान्ने तय थियो।
‘एन्फा निर्वाचन समितिको मिति २०७९ भाद्र १४ गतेको पत्रमार्फत\ प्रतिनिधि छनोट कार्य रद्ध गर्न सूचित गरिएको हुँदा प्रतिनिधि छनोट कार्यक्रम रद्ध गरिएको व्यहोरा जानकारी गराउँदछौं। एन्फा निर्वाचन समितिले विशेष सधारणसभामा प्रतिनिधित्व गर्ने ९ क्लबका सम्बन्धमा तत् समयका मताधिकार प्राप्त सदस्यसंस्थाहरुबाट नै प्रतिनिधित्व गराउनु भन्ने उल्लेख गरिएको हुँदा मिति २०७९ आश्विन १२ गते हुने विशेष सधारणसभामा सोही बमोजिम प्रतिनिधित्व हुने व्यहोरासमेत जानकारी गराउदछौं,’ महासचिव राईले लेखेको पत्रमा भनिएको छ।
एन्फाको साउन २६ गते बसेको कार्यसमिति बैठकले विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय गरेको थियो। असार ६ गते सम्पन्न निर्वाचनमा १३ सदस्य चुनिने व्यवस्था भए पनि ४ जना उम्मेदवारको समान ३९ मत आएको थियो। त्यसपछि पुन: निर्वाचन गराउन नसकिने भन्दै विशेष साधरणसभाबाट ४ जनाबीच निर्वाचन गराई २ सदस्य छानिने एन्फाले जनाएको थियो।
दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका छन्। यीमध्ये दीपक, रुपेश र लोकेन्द्र पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलका उमेदवार हुन्। ती दुई कार्यसमिति सदस्यको पनि सोही विशेष साधारण सभामार्फत् टुंगो लाग्ने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।