काठमाडौं– मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लिएर चर्चामा रहेका क्षेत्रमध्ये झापा क्षेत्र नम्बर ३ पनि एक हो। राष्ट्रिय राजनीतिका दुई ‘हेबिवेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएका कारण झापा क्षेत्र नम्बर ३ चर्चामा छ।
२०७४ सालको जस्तै यसपटक पनि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने लगभग निश्चित छ।
सत्ता गठबन्धनका दलहरुले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलका संयोजक समेत रहेका सिटौलाको दाबेदारी झापा ३ मै छ। गठबन्धनबाट उनको दाबीलाई चुनौती दिने अर्को पात्र अहिलेसम्म देखिएका छैनन्। त्यसैले गठबन्धनको साझा उम्मेदवार बनेर सिटौला २०७४ सालको चुनावमा बेहोरेको हारको ‘बदला’ लिने योजनामा छन्।
सांगठनिक राजनीतिमा ‘छलाङ’ मारेर राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बनेका लिङ्देन पनि २०७४ सालको जितलाई दोहोर्याउने योजनामा छन्।
तर, जितका लागि यी दुवै नेतालाई त्यति ‘सहज’ भने छैन। लिङ्देनका लागि सत्ता गठबन्धन ठूलो चुनौती बन्ने यथार्थ छ भने सिटौलाका लागि पनि कम चुनौती छैन। अझ एमाले र राप्रपाबीच तालमेल भयो भने सिटौला ‘रेड जोन’ मा पर्ने तथ्यले देखाउँछ।
२०७४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट लिङ्देनले सिटौलालाई १३ हजार बढीको मतान्तरले पराजित गरेका थिए। सिटौलाले ३१ हजार १७१ मत ल्याउँदा लिङ्देन ४४ हजार ६१४ मत ल्याएर विजयी भएका थिए। यद्यपि लिङ्देनलाई तत्कालीन एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको सहयोग रहेको थियो।
यो क्षेत्रको सम्भावित नतिजालाई लिएर २ कोणबाट विश्लेषण गर्न आवश्यक छ।
पहिलो, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विश्लेषण र दोस्रो, यहाँको राजनीतिक समीकरणले निर्माण गर्ने चुनावी माहोल।
स्थानीय निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विश्लेषण
झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ तथा ८ नम्बर वडाहरू र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० पर्दछ। यो क्षेत्रको बलियो राजनीतिक शक्ति कांग्रेस, एमाले र राप्रपा हुन् भने माओवादी केन्द्र तुलनात्मक रुपमा कमजोर स्थितिमा छ।
यो क्षेत्रमा पर्ने पालिकाका वडाहरूमा दलहरूका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा नेपाली कांग्रेस ठूलो दल देखिन्छ। यसका वडाध्यक्षका उम्मेदवारले २६ हजार ९२१ मत प्राप्त गरेका छन्। त्यस्तै, राप्रपाबाट वडाध्यक्षका उम्मेदवारहरुले २१ हजार १५९ मत ल्याएका छन्। तेस्रो नम्बरमा रहेको एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ११३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रले ६ हजार ६८८ र स्वतन्त्र लगायत अन्य दलले ३ हजार ३७३ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा यी ४ राजनीतिक पार्टी दुई ध्रुवमा बाँडिने निश्चित छ। पहिलो वर्तमान सत्ता गठबन्धन,जसमा कांग्रेस र माओवादी केन्द्र रहेका छन् भने एमाले र राप्रपाको समीकरण बन्न सक्ने सम्भावना प्रबल छ। उपरोक्त मत परिणामलाई आधार मान्ने र एमाले–राप्रपा गठबन्धन बनेमा लिङ्देनको संसद यात्रा दोहोरिने सम्भावना बलियो छ।
यो सँगै झापा ५ बाट उम्मेदवारी दिन लागेका एमाले अध्यक्ष केपी ओली राप्रपासँग गठबन्धन गरेर बलियो बन्ने मार्गमा छन् र त्यसको बदलामा झापा ३ मा लिङ्देनलाई एमालेले सहयोग गर्ने स्थिति बन्ने देखिन्छ।
यस्तो अवस्थामा सिटौलाको संसदीय राजनीतिमा फेरि पूर्णविराम लाग्नसक्ने छ, जसकारण सिटौला ‘रेड जोन’ मा रहेका र कमजोर सम्भावना बोकेका उम्मेदवार बनेका छन्।
उदाउँदा लिङ्देन, कमजोर बनिरहेका सिटौला
२०७८ मा भएको महाधिवेशनबाट लिङ्देन राप्रपाको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन्। यता सिटौला भने कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई पार्टी सभापतिको उम्मेदवारीमा सहयोग गरेर शक्ति संचयमा लागेका नेता हुन्। तर सिटौलाले सोचे अनुसारको शक्ति प्राप्त गर्न सकेनन्।
सिटौलालाई चिन्ने झापाकै नेता पनि उनका लागि सक्रिय राजनीति अब झन् झन् गाह्रो बन्दै गइरहेको बताउँछन्। ‘उहाँ (सिटौला) का लागि पार्टी र संसदीय राजनीति दुवै गाह्रो बन्दै गइरहेको छ। संगठनमा पनि शक्ति संचय गर्नसक्नुभएन। कार्यकर्ताले नै उहाँमा सम्भावना नदेख्ने भएपछि संसदीय राजनीतिमा पनि त्यसको असर पर्छ,’ सिटौलालाई लामो समयदेखि चिनेका झापाका ती नेताको भनाइ छ।
तर, लिङ्देनको प्रभाव भने झन् बढ्दो छ। नयाँ संविधान जारी भएपछि भएको पहिलो स्थानीय तहको निर्वाचनभन्दा यसपटकको निर्वाचनमा राप्रपाले मत बढाउँदै लगेको छ। त्यसलाई लिङ्देनको प्रत्यक्ष प्रभावका रुपमा अर्थ्याउँछन् झापाका एक पत्रकार। उनी भन्छन्, ‘२०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा २०७९ सालको निर्वाचनमा राप्रपाको मत बढेको छ। यो भनेको लिङ्देनको प्रभाव बढेको हो।’
शर्मालाई रोक्दा आफैँ खिइँदै सिटौला
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सिटौलाको निर्वाचन क्षेत्र जोडिएको छ। शर्मा झापा क्षेत्र नम्बर १ र सिटौला क्षेत्र नम्बर ३ का ‘स्थायी उम्मेदवार’ जस्तै रहेको र रहने परिस्थिति संघीयता लागू हुँदाको बेला थियो, र अहिले पनि छ।
संघीयता लागू भएर स्थानीय तहको सीमाङ्कन हुँदासम्म सिटौला पार्टी र राष्ट्रिय राजनीतिमा प्रभावशाली थिए। सिटौलाले त्यो बेला ‘बद्नियत’ का साथ आफ्नो क्षेत्रमा पर्ने भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० शर्माको निर्वाचन क्षेत्रमा गाभिदिएकाे झापाका कांग्रेस नेताहरु बताउँछन्।
झापाली नेताहरुका अनुसार यसो गर्नुका पछाडि २ कारण थिए– पहिलो, वामपन्थी मतदाता बहुल्य ती वडा हटाएसँगै सिटौला आफ्नो जित निश्चित गर्न चाहन्थे। दोस्रो, वामपन्थी मत उता (क्षेत्र नम्बर १ मा) पर्दा शर्माको हार निश्चित भइरहन्थ्यो, सधैंका लागि।
त्यसो त सिटौलाले शर्मालाई झापा पार्टी सभापतिमै रोकेका थिए। विद्यार्थी राजनीतिबाट राष्ट्रियस्तरमा चर्चा बटुलेर पार्टीको जिल्ला सभापति उठ्न झापा पुगेका शर्मालाई सिटौलाको टिमले रोकेको थियो।
त्यस्तै, पार्टीको १४औं महाधिवेशन अघि देउवा समूहमा रहेका शर्मालाई रोक्न सिटौला देउवा समूहमा प्रवेश गरेका पनि नेताहरुबीच चर्चा हुने गर्छ।
सिटौलाको आगमनसँगै शर्मा कित्ता फेरेर प्रकाशमान सिंहको समूहमा पुगेका थिए। दुवै कित्तामा नलागेका झापाका कांग्रेसीलाई पनि सिटौलाको उक्त व्यवहार बिझेको छ। झापामा कांग्रेस कमजोर हुनुमा सिटौलाको भूमिका ‘महत्त्वपूर्ण’ रहेको बताउँछन् कांग्रेसका अर्का एक नेता।
‘विश्वदाईका खुट्टा तान्दातान्दै उहाँ (सिटौला) ले आफू खिइएको थाहा पाउनुभएन। उहाँकै कारण जिल्लामा पार्टी पनि कमजोर हुँदै गयो,’ ती नेताको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।