काठमाडौं– ‘बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो,’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन पहिले आसन्न निर्वाचनको उम्मेदवारीको सन्दर्भमा लेखेको ट्विट हो।
शर्मा काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट उठ्न सक्ने आकलन भइरहेका बेला उनले झापा क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिनेबारे सामाजिक सञ्जालमार्फत् स्पष्ट पारेका थिए। अहिले उनी त्यतै केन्द्रित छन्।
यद्यपि उक्त क्षेत्रबाट शर्माले ७० र ७४ मा भएको निर्वाचनमा पराजय भोगिसकेका छन्। उनी यो क्षेत्रबाट तेस्रोपटक प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छन्।
२०७४ को निर्वाचनमा वाम गठबन्धन गरेर माओवादी केन्द्रका उम्मेदवार राम कार्कीले शर्मालाई पराजित गरेका थिए। शर्माले ३३ हजार ३१० मत प्राप्त गर्दा कार्की ३६ हजार १७३ मत ल्याएर विजयी भएका थिए।
मंसिरमा हुने निर्वाचनमा शर्माको उम्मेदवारीको सन्दर्भ र सम्भावित नतिजालाई मुख्यत: ४ वटा कोणबाट विश्लेषण गर्नु वाञ्छनीय हुनेछ। पहिलो, सत्ता गठबन्धनले प्रस्ताव गरेको सिट बाँडफाँटको विधि र दोस्रो, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विश्लेषण। तेस्रो, वामपन्थीहरूको दबदबा क्षेत्र र चौथो, कृष्ण सिटौला ‘फ्याक्टर’। यी सबै कोणबाट हेर्दा शर्मालाई संसदीय राजनीतिमा प्रवेश गर्न अवरोध हुन सक्छ।
प्रस्तावित सिट बाँडफाँटको विधिलाई कार्यान्वयनमा ल्याइए उक्त क्षेत्र माओवादी केन्द्रलाई छोड्नुपर्ने हुन्छ। तर शर्मा उक्त विधिलाई अस्वीकार गर्ने पक्षमा रहेको उनी निकट स्रोत बताउँछ। पार्टीको महामन्त्री रहेकाले उक्त क्षेत्रमा स्वतः आफ्नो मागदाबी रहने शर्माको तर्क रहेको उनी निकटस्थहरू बताउँछन्।
त्यसो त उनले गरेको ट्विटमा गठबन्धनका उम्मेदवारलाई साथमा लिएर उम्मेदवारी दिने उल्लेख गरेका छन्। ‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु,’ शर्माले लेखेका छन्।
यता, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलबाट उम्मेदवार बनेका वडाध्यक्षले प्राप्त मतलाई विश्लेषण गर्ने हो भने एमाले फराकिलो मतले अगाडि देखिन्छ।
यो क्षेत्रमा मेचिनगर नगरपालिकाका सबै (१५ वटा)वडा, भद्रपुर नगरपालिकाको ९ र १० नंबर वडा र बुद्धशान्ती गाउँपालिकाका ४, ५, ६, ७ नम्बर वडाहरू रहेका छन्।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। उक्त निर्वाचनमा कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले २४ हजार ५९ मत प्राप्त गरेका थिए। त्यस्तै, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३ हजार ९०५ मत प्राप्त गरेका थिए। एक्लै प्रतिस्पर्धा गरेको एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २३२ मत प्राप्त गरेका थिए। यस्तै, राप्रपाका वडाध्यक्षका उम्मेदवारले ५ हजार ८३० मत, एकीकृत समाजवादीका उम्मेदवारले १ हजार २५२ मत र स्वतन्त्र लगायत अन्य दलले ४ हजार ६५२ मत प्राप्त गरेका थिए।
मंसिरमा हुने निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि एमालेको मत करिब २ हजार ५०० ले बढी देखिन्छ। यस्तो अवस्थामा गठबन्धनले उक्त क्षेत्रको तेस्रो शक्तिको रुपमा रहेको राप्रपालाई समेट्नुपर्ने देखिन्छ।
तर राप्रपा र एमालेबीच गठबन्धन हुन सक्ने प्रारम्भिक लक्षणहरू देखिन्छन्।
‘जब्बर’ वामपन्थी मत
यो क्षेत्र वामपन्थीहरूको उद्गमस्थल हो। जसको पुष्टि २०७४ को निर्वाचनमा कार्कीको विजयले पनि गर्छ। आफ्नो राजनीतिक जीवनमा कुनै पनि समय यो क्षेत्रमा योगदानै नगरेका कार्कीले सोही ठाउँका र राष्ट्रिय राजनीतिमा समेत चर्चा बटुलेका शर्मालाई करिब ३ हजारको मतान्तरले पराजय गरिदिए।
यद्यपि ०७४ को दलहरूको समीकरण परिवर्तन भए पनि वैशाखको निर्वाचनमा सानो शक्तिको रुपमा खुम्चिएको माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको मतले गठबन्धनको जो सुकै उम्मेदबार भएपनि जित निकाल्न कठिन छ। किनभने कार्कीको जितमा तत्कालीन एमालेको मत मुख्य थियो भने वैशाखको निर्वाचनमा एमाले फराकिलो मतले अगाडि छ। यदि शर्माकै उम्मेदवारी निश्चित भयो भने पनि ‘जब्बर’ वामपन्थी मतलाई रिझाउन उनले निकै मेहेनत गर्नुपर्छ।
सिटौला ‘फ्याक्टर’
कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको गृहजिल्ला पनि झापा हो। सिटौला र शर्माबीचको सम्बन्ध सुमधुर देखिँदैन। जसको ताजा उदाहरण वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने विषयमा भएको असमझदारीले देखाउँछ।
शर्माकै गृहनगर मेची नगरपालिकामा सिटौलाको दबाबले उनी पक्षका केशव पाण्डेलाई गठबन्धनले मेयरमा सिफारिस गरेको थियो। तर उम्मेदवारी दर्ता गर्ने दिन शर्माले हस्तक्षेप गरेर आफू पक्षीय इन्द्र बुढाथोकीलाई मेयरमा उम्मेदवारी दिलाए। यसको असर कांग्रेसले गठबन्धन हुँदा पनि पराजय भोग्नुपर्यो। जबकि एक्लाएक्लै प्रतिस्पर्धा गर्दा ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले मेयरमा बाजी मारेको थियो।
महामन्त्री पदको प्रभाव पर्ने आशा
शर्माको जितको एउटा मात्र बलियो आधार भनेको उनी नेपाली कांग्रेसका महामन्त्री हुनु हो। आगामी दिनमा सत्ता र शक्तिको केन्द्र बन्ने सम्भावना रहेका शर्मालाई त्यही विश्वासमा मतदाताले विजयी बनाउन सक्छन्।
शर्मा पनि यही संभावनाबाट बढी आशावादी देखिन्छन्। मुखर रुपमै उनले अघिल्ला निर्वाचनमा मतदाताले पराजित गराएकाले प्रधानमन्त्री, पार्टी सभापतिको दाबीमा असर पारेकोले अब मतदाताले त्यस्तो ‘भुल’ गर्न नहुने धारणा राख्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।