काठमाडौं– भारतीय सेनाको ३१ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ। नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहित ३१ सदस्यीय भ्रमणदल ५ दिने भ्रमणका लागि आइतबार नेपाल आएको हो।
एयर भाइस मार्शल तेजवीर सिंह नेतृत्वको भ्रमणदलका सदस्यले नेपालमा प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
भदौ १६ गतेसम्म नेपालमा रहने उनीहरुले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम पनि छ।
भ्रमणदलले सोमबार रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार नै उनीहरूले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको भ्रमण गर्ने कार्यक्रम पनि छ।
मंगलबार उनीहरुले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्नेछन्।
भ्रमणदलले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनी लगायत काठमाडौं र पोखरामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको सेनाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।