काठमाडौं– शनिबारदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको पार्टी प्रशिक्षण कार्यक्रमा आफ्नो धारणा राख्ने नेताहरुले वामपन्थी एकतालाई अवसरमा बदल्नु पर्ने बताएका छन्।
केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा र वर्षमान पुन ‘अनन्त’ले यो अवसरलाई उपयोग गर्नुपर्ने तर्क गरेका हुन्। उनीहरुले यसमा माओवादी केन्द्रले नेतृत्व लिनु पर्नेमा पनि जोड दिएका छन्।
एकीकरणपछिको अवधि भने निकै खतराजनक भएकाले त्यसको व्यवस्थापनमा नेतृत्वका ध्यान पुग्नुपर्ने तर्क उनीहरुले गरेका थिए।
नेता रामबहादुर थापा बादलले एमालेसहितका दलसँग एकता गर्ने कुरामा ठूलो खतरा रहेकाले चनाखो हुनु पर्ने तर्क राखे। उनले एमालेसँगको एकतामा अस्तित्व रक्षाको दृष्टिकोणले आउन नहुने बताए। एकता गर्ने निर्णय सकरात्मक भए पनि त्यसमा गम्भीर छलफल गर्न उनले माग समेत गरे। वामपन्थी गठबन्धन र एकता भाँड्न देशी विदेशी शक्तिले ठूलो षड्यन्त्र गरिरहेको भन्दै उनले त्यसतर्फ सजक रहनुपर्ने बताए।
अर्का नेता कृष्णबहादुर महराले वामपन्थी एकताले भारत, चीन र अमेरिका मात्रै नभएर विश्वभर नै तरङ्ग पैदा गरेको टिप्पणी गरे। उपप्रधान तथा परराष्ट्रमन्त्री महराले त्यसका चुनौती पनि छन् भन्ने कुरा समयमै सिक्न जरुरी भएकाले त्यसमा ख्याल गर्न माग गरे। उनले आफूले परराष्ट्र मन्त्रलयमार्फत विश्वमा उत्पन्न गरेको तरङ्गका बारेमा जानकारी आइरहेको समेत बताए।
नेता वर्षमान पुनले एकीकरणको विरोधी भनी आफ्नो प्रचार भएको प्रति दुखेसो पोखे।
निर्वाचनको मुखमा आएर भएको एकतामा अवसर र खतरा दुवै हुने भएकाले त्यसमा होस पुर्याउनु पर्ने बताए। हौसिएर जनतासमक्ष जाँदा त्यसले प्रतिकुल नजिता ल्याउने पक्षलाई पनि अहिले नै आकलन गरेर जानुपर्ने तर्क पुनले गरे।
चलिरहेको प्रशिक्षण कार्यक्रममा शीर्ष नेता र पोलिटब्युरो सदस्यहरुले आगामी कार्यदिशा र रणनीतिका बारेमा आफ्नो धारणा राख्ने र अन्त्यमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने माओवादी सांसद रामनारायण बिडारीले बताए। प्रशिक्षण कार्यक्रम राष्ट्रिय सभागृहमा चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।