काठमाडौं– साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा बराबरीमा रोकिँदै अंक बाँडेको छ।
घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेलेको हो। बायर्नका लागि लेरोय सानेले गोल गरे। यता, पाहुना टोलीका मार्कस थुरामले गोल गरेका थिए।
खेलको ३४औं मिनेटमा सानेको गोलले भीएआरबाट मान्यता पाएन। ४३औं मिनेटमा मार्कस थुरामले क्रिस्टोफ क्रामरको पासमा मैदानको मध्यभागबाट एकल प्रयासमा गोल गर्दै मोन्चेनग्लाडवाकलाई सुरूआती अग्रता दिलाए।
८३औं मिनेटमा जमाल मुसियलाको पासमा सानेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीसँगै अपराजित रहेको बायर्न ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ।
समान खेलबाट ८ अंक जोडेर मोन्चेनग्लाडवाक छैटौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।