काठमाडौं– रहिम स्टर्लिङको दुई गोलमा चेल्सीले प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई पराजित गरेको छ।
पश्चिम लण्डनको स्ट्यामफोर्ड ब्रिज स्टेडियममा शनिबार राति सम्पन्न खेलमा १० खेलाडीमा सिमित घरेलु टोली चेल्सीले लेस्टरलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको २८औं मिनेटमा कोनोर गल्लाघेरले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदा चेल्सी १० खेलाडीमा समेटिएको थियो।
तर, ४७औं मिनेटमा स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। ६३औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २–० को अग्रता दिलाए।
त्यसपछि ६६औं मिनेटमा हार्भे बर्नेसले गोल गरे। त्यसपछि दुवै टोलीले केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा चेल्सी २–१ ले विजयी भयो।
जितसँगै चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ। चेल्सी अंक तालिकाको छैटौं स्थानमा रहेको छ।
पराजित लेस्टर १ अंक जोडेर १९औं स्थानमा रहेको छ। शनिबार राति सम्पन्न अन्य खेलमा भने ब्राइटनले लिड्सलाई १–० ले हराएको छ। यस्तै, ब्रेन्टफोर्ड र एभर्टनले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।