हेटौंडा– मकवानपुर जिल्लामा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको एक तथ्यांकले जनाएको छ। पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घरेलु हिंसाको उजुरी झण्डै दोब्बर परेको सो कार्यालयले जनाएको हो।
अघिल्लो आर्थिक वर्षमा दुई सय ८६ वटा उजुरी परेकामा गत आवमा चार सय ३९ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको हो। अघिल्लो आवमा परेका उजुरीमध्ये एक सय ८६ वटा उजुरीको मिलापत्र गराइएकोे थियो भने ५० वटा मुद्दा अदालतमा गएको थियो।
त्यस्तै गत आर्थिक वर्षमा घरेलु हिंसाका चार सय ३९ वटा उजुरी परेकामा दुई सय ६० वटा उजुरीको मिलापत्र गराइएको ६१ वटा उजुरी अदालतमा मुद्दाका रूपमा गएको र एक सय १८ वटा उजुरीको छिनोफानो भइरेको छ।
आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा ३८, भदौमा ४४, असोजमा ३३, कात्तिकमा ३७, मङ्सिरमा ३४, पुसमा ३६, माघमा २४, फागुनमा ३१, चैतमा ३९, वैशाखमा ३६, जेठमा ४५ र असारमा ४२ घरेलु हिंसासम्बन्धी उजुरी परेको र तीमध्ये अधिकांश अधिकारका लागि परेको सो कार्यालयले जनाएको छ।
विगतमा सामाजिक तथा परिवारिक डर, त्रास र भयका कारण न्यायका लागि महिला प्रहरी र अदालतमा जान डराउँथे तर अहिले चेतना अभिवृद्धि भएसँगै महिला पनि न्यायका लागि नगरपालिकादेखि अदालतसम्म धाउन थालेपछि उजुरीको संख्या बढ्दै गएको हो।
यस सम्बन्धमा वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा ललितकुमार दासले महिलामाथि हिंसा कतैबाट हुुन नहुनेमा जोड दिँदै अधिकार नपाएमा उनीहरुले उजुरी गर्नुु स्वाभाविक हो भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।