काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी भएकी छन्। सिस्नुपानी नेपालले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘छोरी’ कार्यक्रममा उनी सहभागी भएकी हुन्।
छोरी तथा महिला शसक्तिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारले समाजमा छोरीको महत्व दर्शाउँदै विभिन्न कला प्रस्तुत गरेका थिए। सो अवसरमा राष्ट्रपति भण्डारीले छोरी र महिलाका विषयमा प्रस्तुत गरिएका विभिन्न साङ्गीतिक र साहित्यिक कार्यक्रमको अवलोकन गरिन् ।
कार्यक्रममा कलाकार मनोज गजुरेलले विधुवा आमाको भेषमा विधुवा महिलाले समाजबाट झेल्नुपरेको समस्याबारे प्रस्तुति गरेका थिए। यस्तै मदनकृष्ण श्रेष्ठले छोरी नभएको भए छोरा मान्छेको जन्म नहुने भन्दै छोरी पनि छोरा सरह समाजमा अहिले प्रतिष्ठित ठाउँमा पुगेको बताए।
कार्यक्रममा १८ जना छोरीले तवेला, बासुरीसहित साङ्गीतिक, १२ जना छोरीले नौमति बाजा बजाउनुको साथै ३४ जना छोरीले बासुरीका विभिन्न धुन बजाएका थिए। यस्तै कुन्ता शर्माले ‘पोथी बास्नु हुँदैन’ लक्ष्मण गाम्नागे ‘मान्छे र आइमाई’ मामिला जोशीले ‘नगरबधुको कर्तव्य’, भावना शर्माले ‘म जयसरा’ र अर्जुन पराजुलीले ‘मलाई जन्मिन देऊ’ शीर्षकमा कतिवा वाचन गरेका थिए।
कार्यक्रममा अन्जु पन्तलगायत कलाकारले छोरी र आमाको भावले भरिएका गीत गाएका थिए। कार्यक्रममा राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, महिला अधिकारकर्मी, कलाकारलगायतको सहभागिता रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।