काठमाडौं– एक वृद्धा महिलामाथि कुटपिट हुँदै गरेको भिडियो सार्वजनिक गर्ने बालकलाई अछाम प्रहरीले सम्मान गरेको छ। प्रहरीले घरभित्र भएको हिंसालाई बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउन महत्त्वपूर्ण सहयोग गरेको भन्दै ११ वर्षीय बालक दीपेन्द्र न्यौपानेलाई शुक्रबार सम्मान गरेको हो।
दीपेन्द्रलाई शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जिल्ला प्रहरी कार्यालयमा अछाममा आयोजित एक कार्यक्रममा सम्मानपत्र प्रदान गरेका डीएसपी नारायण डाँगीले जानकारी दिए। अपराध न्य@नीकरणमा हौसला बढाउन न्यौपानेलाई सम्मान गरिएको उनले बताए।
दीपेन्द्रले बुधबार पञ्चदेवल विनायक नगरपालिका-६ तोलीका ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट भएको भिडियो सार्वजनिक गरेका थिए। जैसराकी आफ्नै बुहारी र देवरानीले लछारपछार गरी शारीरिक तथा मानसिक रूपमा अपमानजनक र अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले खोज, अनुसन्धान अघि बढाएको थियो।
त्यो घटना प्रत्यक्ष देखिरहेका दीपेन्द्रले भिडियो खिचेका थिए। दीपेन्द्र नाताले पीडित वृद्धाको भतिज पर्ने डीएसपी डाँगीले बताए।
बुबा लक्ष्मण न्यौपानेको मोबाइलबाट भिडियो खिचेर उनले बुबाकै म्यासेन्जरमार्फत् आफन्तहरूलाई पठाएपछि घटना बाहिरिएको थियो। भिडियो बाहिरिएपछि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले देवीसरा र धर्मालाई पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।