काठमाडौं– प्रहरीले ग्रिन कार्डसहित अमेरिका पठाइदिने भन्दै करोडौं ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौंको गैरीधारा मार्गस्थित प्रेसिडेन्सियल प्रालि कन्सल्टेन्सी सञ्चालन गरी अमेरिका, क्यानडा र जापान लगायतका देशमा ग्रिन कार्डसहित इमिग्रेसन भिसामा पठाइदिने भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा संखुवासभा सिलिचोङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं–६ सरस्वतीनगर बस्ने ३५ वर्षीय परिवन राई, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–३ घर भइ हाल काठमाडौंको गोठाटार बस्ने ४६ वर्षीय ओमपुकार गुप्ता र इलामको सूर्योदय नगरपालिका–११ घर भइ हाल बसुन्धारा बस्ने ३४ वर्षीय सञ्जय तामाङ रहेका छन्।
पक्राउ परेकामध्ये परविन राई उक्त कन्सल्टेन्सीका सञ्चालक रहेको प्रहरीले बताएको छ। यस्तै गुप्ता र तामाङ उक्त कम्पनीको डेप्यूटी डाइरेक्टर रहेको पाइएको छ।
उनीहरुले नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नै नलिइ सामाजिक सञ्जाल र पत्रपत्रिकामा विज्ञापन गरी सयौं व्यक्तिलाई ग्रिनकार्डको प्रलोभन र भ्रममा पारी ठगी गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। अनुसन्धानका क्रममा उनीहरुले कन्सल्टेन्सी दर्ता गर्दा विशुद्ध वैदेशिक रोजगारीमा जानेहरुलाई शैक्षिक परामर्श दिने भने पनि शैक्षिक परामर्श शाखाबाट भने अनुमति नलिएको पाइएको छ।
कम्पनी दर्ता गर्दाको उद्देश्य विपरीत बिना अनुमति उक्त कम्पनीले वैदेशिक रोजगारका लागि जापान, क्यानडा र अमेरिकाको ग्रिनकार्ड शतप्रतिशत ग्यारेन्टीका साथ उपलब्ध गराउने भन्दै विश्वास दिलाइ ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।
यस्तै ‘अनस्कील वर्कर’को रुपमा अमेरिका जान इमिग्रेन्ट भिसा र ग्रिनकार्डका लागि दुई वर्षसम्म समय लाग्ने र ५० लाखसम्म रुपैयाँ लाग्ने भन्दै दर्जनौं व्यक्तिहरुबाट दुई/तीन वर्षदेखि मोटो रकम असुल गरी करोडौं ठगी गर्ने गरेको पाइएको छ।
उनीहरुले सुरुमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई अमेरिकाको प्रोसेसिङ गर्न कन्सुलिङ कक्षा लिनुपर्ने भन्दै एक हजार शुल्क लिने र अनेक सपना देखाउँदै अमेरिकाका लागि ‘अप्लाई’ गर्न लगाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका उनीहरु ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।