काठमाडौं– विमानस्थलमा सर्वसाधारण (पब्लिक)को खानतलासी हुँदा सामान बोक्ने कार्गो र त्यसबाट निस्केको फोहोर भने जाँच नहुने गरेको विषयमा गृहसचिव टेकनारायण पाण्डेले प्रश्न उठाएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा भएको उपत्यका स्तरीय अपराध अनुसन्धान गोष्ठीमा बोल्दै गृहसचिव पाण्डेले उक्त कुरा उठाएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत बन्दै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थल अहिलेको मुख्य सुरक्षा चुनौतीमध्येको एक भएको बताउँदै पाण्डेले सुरक्षालाई अझ मजबुत बनाउनुपर्ने बताएका छन्।
विमानस्थलमा पब्लिकको खानतलासी हुँदा कार्गोबाट निस्केको फोहोर भने जाँच गर्ने प्रविधि नभएको र सोही माध्यमबाट ‘गोल्ड स्म्लगिङ’ लगायत अन्य अपराध हुने गरेकाले फोहरसमेत जाँच गर्नुपर्नेतर्फ गृहसचिव पाण्डेले इंगित गरे।
सहरी इलाकाहरुमा हुने लागु औषध अपराध, आर्थिक अपराध र साइबर अपराधहरु अहिलेको मुख्य चुनौती रहेको तथा हिमाली क्षेत्रमा भने यार्सालगायतका बहुमूल्य जडिबुटी लुटपाट जस्ता अपराधहरु बढी हुने गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।