काठमाडौं–नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सबै मुद्दा फिर्ता नहुनेतर्फ गृहमन्त्री बालकृष्ण खाणले संकेत गरेका छन्।
बुधबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा भएको उपत्यका स्तरीय अपराध अनुसन्धान गोष्ठीमा बोल्दै गृहमन्त्री खाणले विप्लव नेकपाका सबै मुद्दा फिर्ता नहुनेतर्फ इंगित गरेका हुन्।
विप्लव नेकपाको नाम नलिई गृहमन्त्री खाणले भने, ‘विगतको सरकारले गरेका राजनीतिक सहमतिहरु कार्यान्वय गर्न सरकार प्रतिबद्ध छ। तर, सहमति विधान र कानुनमा उभिएर कार्यान्वयन हुन्छ।’

विधान र कानुनमा उभिएर सहमति कार्यान्वयन हुने बताएका मन्त्री खाणको भनाइले सबै मुद्दा कानुनी रुपमा फिर्ता लिन नमिल्नेतर्फ उनले संकेत गरेका थिए।
कानुनी जटिलताहरुको समेत सकेसम्म हल गरेर सहमति कार्यान्वयनमा प्रतिबद्ध हुने मन्त्री खाणको भनाइ थियो। विप्लव नेकपासँग केपी शर्मा ओली नेतृत्वको गरेको तीन बुँदे सहमति अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।
आफ्ना नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिएर रिहाइ गर्नुको साटो उल्टै पक्राउ पुर्जी जारी गरेर सरकारले सहमति तोडेको भन्दै विप्लव नेकपा असन्तुष्ट बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।