काठमाडौं– ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई जना सवारी चालकविरुद्ध मुद्दा दायर गरेको छ।
ट्राफिक प्रहरीको रात्रिकालीन चेकिङका क्रममा दुई जना चालक मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला परेका हुन्।
जसमध्ये एक जना यात्रुवाहक बसका चालक रहेका छन् भने अर्का ट्याक्सी चालक रहेका छन्। उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरिएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाइरहेका उनीहरुविरुद्ध कारबाही गर्न खोज्दा उल्टै उनीहरुले ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकी प्रहरीले जनाएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालय अगाडिको सडकमा बा ३ ख ४३ ८३ नम्बरको भाडा बसका चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका सरोज श्रेष्ठ मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका थिए।
यस्तै भक्तपुरको जगातीमा सोमबार राति भएको ट्राफिक प्रहरीको चेकिङमा बा २ ज ५६ १५ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ घर भएका ४० वर्षीय अनिल धिताल मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका थिए।
पक्राउ परेका श्रेष्ठलाई अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थप र धितालवीरुद्ध सात दिनको म्याद थपको अनुमति लिइ अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।