काठमाडौं– सशस्त्र प्रहरी बल यूएन मिसनमा माली खटिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माली मिसनमा खटिनका लागि गरिएको प्रस्तावलाई स्वीकृत गरेसँगै सशस्त्रले यो अवसर पाएको हो।
मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै माली मिसनमा १४० जनाको सशस्त्रको नफ्री खटिने छ। संयुक्त राष्ट्र संघले नै फम्र्ड पुलिस यूनिट (एफपीयू)को रुपमा अफ्रिकी देश मालीमा शान्ति स्थापनार्थ सशस्त्रको टोली खटाउन पत्राचार गरेको थियो।
त्यसपछि उक्त प्रस्तावलाई सशस्त्र प्रहरी बलले स्वीकृतिका लागि गृहमन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिएको थियो। अन्तत मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेको छ।
प्रस्ताव स्वीकृत भएसँगै आउँदो जनवरीदेखि माली मिसनमा सशस्त्र प्रहरी खटिनेछन्। यता सशस्त्र प्रहरी बलले माली मिसनमा खटिने टोलीको छनोटदेखि तालिम र बन्दोबस्तीका सामानहरुसमेत खरिदका लागि प्रक्रिया अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।