भाइचुङ भुटिया (फाइल तस्बिर)
काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनपछि अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)को चुनावी मिति अनिश्चित छ। तर, भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान भाइचुङ भुटियाले एआईएफएफको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
भुटियाको नाम भारतका पूर्वखेलाडी दीपक मण्डलले प्रस्ताव गरेका थिए भने मधु कुमारीले उनको उम्मेदवारीमा समर्थन गरेकी छन्। मधु पूर्व भारतीय खेलाडी हुन् र उनी एआईएफएफको मतदाता पनि हुन्। भुटियाले सर्वोच्च अदालतको निर्देशनअनुसार नै खेलाडीका रूपमा उम्मेदवारी दर्ता गराएको बताए।
‘खेलाडीले भारतीय फुटबलको सेवा गर्ने मौका पाउने मेरो विश्वास छ। म मैदानमा मात्रै होइन, प्रशासकका रूपमा पनि खेलाडीले राम्रो गर्न सक्छन् भन्ने देखाउन चाहन्छ,’ उनले भने।
भुटियाले सन् १९९५ देखि २०११ सम्म भारतीय टोलीका लागि खेलेका थिए। उनले जेसीटी, इस्टबंगाल, मोहन बगानको पनि प्रतिनिधित्व गरेका थिए। १९९९ देखि २००२ सम्म उनले इङ्लिस फुटबल क्लब बारीबाट पनि खेलेका थिए।
उनीबाहेक भुटियाका एक समयका उनका साथी तथा पूर्वगोलकिपर कल्याण चौबे दिल्ली, सकर एसोसिएसनका अध्यक्ष साजी प्रभाकरण, पूर्व फुटबलर तथा मेघालय विधान सभाका विधायक युजेनसन लिङ्दोह, बंगालका मुख्यमन्त्री ममता बनर्जीका भाइ अजित बनर्जीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
भारतीय टोलीबाहेक इस्टबङ्गाल, मोहन बगानजस्ता क्लबबाट खेल्ने कल्याण अध्यक्षको दौडमा अगाडि रहेको बताइएको छ। उनी भारतीय जनता पार्टी (भाजपा)का सांसदसमेत हुन्।
२८ अगस्टमा उपनिर्वाचन प्रस्तावित भए पनि उम्मेदवारी दर्ताको अन्तिम दिन शुक्रबार थियो। फिफाको निलम्बनपछि पनि सर्वोच्च अदालतको ३ अगस्टको आदेश बमोजिम एआईएफएफलाई कमिटी अफ एडमिनिस्ट्रेसन (सीओए)ले निर्वाचन प्रक्रियालाई निरन्तरता दिएको छ।
यद्यपि, सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ सोमबार तोकिएको छ। फिफाको आपत्तिलाई ध्यानमा राख्दै प्रख्यात फुटबलरहरूलाई दिइएको ५० प्रतिशत मतदानको अधिकार फिर्ता हुने मात्र नभइ सम्पूर्ण निर्वाचन प्रक्रिया पुनः सुरु हुने अपेक्षा गरिएको छ। एआईएफएफ निलम्बन हुनु केही घण्टाअघि सीओएले प्रख्यात फुटबलरहरूलाई दिएको मतदानको अधिकार खोस्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।