काठमाडौं– कप्तान मार्टिन ओडेगार्डको दुई गोल प्रेरित आर्सनलले प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ।
शनिबार राति सम्पन्न खेलमा आर्सनलले बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै अपराजित यात्रा कायमै राखेको हो।
आर्सनललाई जितमा कप्तान ओडेगार्डले दुई गोल गरे। यस्तै, विलियम सालिबाले एक गोल थपे।
खेलको पाँचौं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए। खेलको ११औं मिनेटमा ओडेगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
५४औं मिनेटमा सालिबाले गोल गर्दै आर्सनललाई ३-० को अग्रता दिलाए।
७२औं मिनेटमा ग्राबियल जिससले गरेको गोलले भने मान्यता पाएन। उनी भीएआरमा अफसाइडमा देखिए।
जितसँगै आर्सनल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ।
पराजित बर्नेमाउथ ३ अंक जोडेर १४औं स्थानमा रहेको छ।
शनिबार राति नै सम्पन्न अर्को खेलमा साउथह्याम्पटनले लेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको छ। साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्सले दुई गोल गरे ।
लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए। अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
यस्तै, फुलह्यामले ब्रेन्टफोर्डलाई ३-२ ले पराजित गर्दा एभर्टन र नटिङघम फरेस्टले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।