काठमाडौं– मुख्य प्रशिक्षक एरिक टेन हागले म्यानचेस्टर युनाइटेडको खराब लयको दोष फरवार्ड क्रिस्टियानो रोनाल्डो एक्लैलाई थोपर्न नहुने बताएका छन्। हागले नतिजाको जिम्मेवारी टोलीको हुने बताए।
‘मलाई थाहा छैन शनिबारको खेलपछि रोनाल्डोलाई लक्षित किन गरिएको छ। त्यो हारको कारण टोलीको प्रदर्शन थियो। पूरा टोली यसको जिम्मेवार छ,’ उनले भने। युनाइटेडले सन् १९२१ यता पहिलो पटक प्रिमियर लिग क्लबको सुरुआती दुई खेलमा हार बेहोरेको छ।
टोलीले अब सोमबार चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलको सामना गर्दैछ। लिभरपुल र युनाइटेडबीचको खेल नेपाली समयअनुसार मंगलबार राति १२:४५ बजे हुनेछ।
हागले लिभरपुलविरुद्धको उक्त खेल जसरी पनि जित्नुपर्ने अवस्था रहेको बताए। ‘मलाई दुई क्लबबीच इतिहासबारे राम्ररी थाहा छ। हामीले अब हरेक खेल जित्नुपर्छ। विशेषगरी यो खेल,’ उनले भने।
रोनाल्डो प्रि-सिजनमा उपस्थित थिएनन्। उनी बारम्बार युरोपको अन्य क्लबसँग जोडिरहेका छन्। त्यसो त युनाइटेडको सुरुआती दुवै खेलमा उनको प्रदर्शन खराब रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।