काठमाडौं– प्रिमियर लिगअन्तर्गत आइतबार चेल्सी र टोटनह्यामबीचको खेल मैदानभित्रको नतिजाभन्दा बढी मैदानबाहिर दुई प्रशिक्षकबीच घम्साघम्सीका कारण चर्चामा आयो।
चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेल र टोटनह्यामका एन्टोनियो कोन्टे खेलका दौरान र खेलपछि एक अर्काविरुद्ध भनाभनमा उत्रँदा खेलको माहोल तनावग्रस्त भएको थियो।
यतिमात्र होइन खेलको इन्ज्युरी समयमा टोटनह्यामले कर्नर लिने क्रममा क्रिस्टियन रोमेरो र मार्क कुकुरेलाबीच पेनाल्टी क्षेत्रभित्र तानातान भयो। त्यसबेला रोमेरोले कुकुरेलाको कपाल ताने तर रेफ्रीले फल दिएनन्। त्यसपछि आएको कर्नरमा ह्यारी केनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए।
भिडियो असिस्टेन्ट रेफ्री माइक डिनले टोटनह्यामका रक्षक रोमेरोले चेल्सीका रक्षक कुकुरेयालको कपाल तान्दा मैदानका रेफ्री एन्थोनी टेलरलाई घटनाबारे जानकारी नगराएर आफूले गल्ती गरेको स्वीकार गरेका छन्।
उक्त घटनापछि भार रेफ्री डिनले केही समय लिएका थिए। तर, उनले मुख्य रेफ्रीलाई फाउल र कार्डका लागि कुनै निर्देशन नदिएपछि खेल पुनः सञ्चालन भएको थियो।
तर, डिनले खेल सकेको हप्ता दिन पुग्न लाग्दा भने उक्त घटनामा चेल्सीले फ्रिकिक पाउन सक्ने बताएका हुन्। डिनले मुख्य रेफ्री टेलरलाई भार हेर्नका लागि निर्देशन दिनुपर्नेमा आफू चुकेको स्वीकार गरे।
‘मैले रेफ्री एन्टोनियो टेलरलाई रोमेरो र कुकुरेयाबीचको घटनापछि केही समय पर्खिन आग्रह गरेको थिएँ। उक्त घटनामा भारबाटै मैले चेल्सीलाई फ्रिकिक दिन नसके पनि सम्भाव्य कार्डका लागि टेलरलाई भार हेर्न आग्रह गर्न सक्थेँ,’ डिनले भने। -एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।