काठमाडौं– फुटबल एसोसियसन (एफए)ले चेल्सीका प्रशिक्षक थोमस टुचेललाई कारबाही गरेको छ।
प्रिमियर लिग अन्तर्गत गत आइतबार टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेसँग भएको विवादलाई लिएर एफएले टुचेललाई कारबाही गरेको हो।
एफएले टुचेललाई एक खेल प्रतिबन्ध तथा ३५ हजार पाउन्ड जरिवाना लगाएको छ। यता, कोन्टेले भने १५ हजार पाउन्ड मात्र तिर्नुपर्ने छ।
टुचेलको प्रतिबन्ध यसै साताको खेलमा भने लागू नहुने एफएले जनाएको छ। लिखित रुपमा पूर्ण कारबाही आएपछि चेल्सीले त्यसलाई अपिल गर्न पाउने हुनाले लिड्सविरुद्ध टुचेल टचलाइनमा रहनेछन्।
स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले दुई पटक अग्रता लिए पनि जित दर्ता निकाल्न सकेन। दोस्रो हाफको ६९औं मिनेटमा टोटनह्यामले बराबरी गोल गरेपछि कोन्टेले खुसियाली मनाउने क्रममा टुचेल फोर्थ अफिसियलसामू गोलप्रति असन्तुष्टि जनाइरहेका थिए।
यसक्रममा दुवै प्रशिक्षकबीच भनाभनको अवस्था सिर्जना भएको थियो। रेफ्रीले दुवैलाई पहेंलो कार्ड दिएका थिए। त्यसपछि चेल्सीले रिस जेम्सको गोलमा अग्रता लिँदा टुचेलले टोटनह्यामको बेन्च अगाडिबाट कुद्दै आफ्नो समर्थकसम्म पुगेका थिए।
खेलको इन्ज्युरी समयमा कर्नरमा टोटनह्यामका ह्यारी केनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुन: भनाभन भयो।
हात मिलाउने क्रममा एक अर्कासँग भनाभन हुँदा दुवै टोलीका अफिसियल र प्रशिक्षक नै उनीहरुलाई छुट्टयाउन आउनुपरेको थियो। रेफ्री एन्थोनी टेलरले यसपटक भने दुवैलाई रातो कार्ड दिएका थिए। -एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।