काठमाडौं– स्पेनिस क्लब रियल मड्रिड छोडेको दुई महिना हुँदा पनि ३४ वर्षीय ब्राजिलियन डिफेन्डर मार्सेलोलाई अनुबन्धको लागि सोचेजस्तो अफर आउन सकेको छैन। २०२१–०२२ को सिजनमा तीन उपाधि जितेर रियल छाडेका मार्सेलोलाई कतारी र एमएलएस क्लबहरूबाट पनि प्रस्ताव आएको थियो। तर, उनी उक्त प्रस्तावहरूबाट विश्वस्त हुन सकेनन्।
यसको मतलब रियलको इतिहासमा सबैभन्दा धेरै उपाधि (२५) जित्ने खेलाडीको निकट भविष्यमा सन्यासको सम्भावना बलियो हुँदै गएको छ। तर, फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार फ्रेन्च लिग वान क्लब निसले लेफ्ट ब्याक मार्सेलो अनुबन्धका लागि इच्छा देखाएको छ। उनलाई फ्री ट्रान्सफरमा अनुबन्धका लागि निसले इच्छा देखाएको हो।
निसले मार्सेलो अनुबन्धका लागि उनीसँग कुराकानी गरिरहेको बताइएको छ। मार्सेलोले १५ वर्ष बिताएर रियल छाडेका हुन्। उनी २००७ मा रियल आएका थिए।
रियलका लागि उनले २५ उपाधि जितेका छन्। जसमा ५ च्याम्पियन्स लिग रहेको छ। रियलबाट उनले ५४५ खेल खेलेका छन्। उनले ३८ गोल र १०३ असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।