काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले आफूलाई अखिल नेपाली फुटबल संघ (एन्फा) ले बंगलादेशविरूद्वको मैत्रीपूर्ण खेलको लागि मात्रै नियुक्त गरेको बताएका छन्।
बिहीबार एन्फा मुख्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफू १० वर्षदेखि अमेरिकामै प्रशिक्षण दिँदै आएको जानकारी दिँदै जन्मभूमिको सेवाको लागि फर्किएको बताए।
‘मलाई एन्फाले एक खेलको प्रशिक्षकको लागि नियुक्त गरेको हो। कर्मभूमिको सबै काम छाडेर जन्मभूमिको सेवाको लागि फर्किएको हुँ। कमसेकम नेपाली फुटबल हेर्नलायक बनाएर जाने छु,’ उनले भने।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीविरूद्व उपकप्तान रोहित चन्दसहित १० खेलाडीले विद्रोह गरेका थिए। त्यसपछि छानबिन समितिले मुख्य प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको थियो।
हाल अल्मुताइरी बिदामा रहेको र उनको बारेमा टुंगो लागिनसकेकाले हुमागाईंलाई एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। हुमागाईंले बिहीबार औपचारिक प्रशिक्षण गरेका थिए। तर, लामो समयदेखि फुटबल गतिविधि नभएका कारण सबै खेलाडी उपलब्ध हुन नसकेको उनले बताए।
‘अहिले नेपालमा कुनै फुटबल गतिविधि छैन। त्यसैले बोलाइएका खेलाडीहरू पनि उपलब्ध हुन सक्नु भएको छैन। मैले उपलब्ध खेलाडीहरूलाई आज भेटेँ। अब सबै खेलाडी आएपछि प्रशिक्षण सुरू गर्छु’, उनले भने।
हाल अस्ट्रेलियामा रहेका राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरू नेपाल फर्केर खेल्न चाहे आफूले राख्ने पनि उनले बताए।
‘उहाँहरूसँग कुरा त भएको छैन। उहाँहरू आएर खेल्न चाहनुहुन्छ भने म टोलीमा राख्न तयार छु’, उनले भने।
पछिल्लो २ महिनायताको तथ्यांक मात्रै हेर्ने हो भने राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सुमन लामा, आशिष लामा, सन्तोष तामाङ, दर्शन गुरूङ, नविन गुरूङ, विमल राना र हेमन्त थापा मगर गरी ७ खेलाडी अस्ट्रेलिया पलायन भएका छन्। उनीहरू अस्ट्रेलियाकै स्थानीय क्लबहरूबाट खेल्दै आएका छन्।
उनी मुख्य प्रशिक्षक अल्मुताइरीले निकालेका १० खेलाडीबारे बोल्न चाहेनन्। ‘सबैलाई सबैको कुरा चित्त बुझ्दैनन्। उहाँले किन निकालेको म त्यता जान चाहिन्नँ। टोलीबाट निकालिएका खेलाडीहरू मसँग छन्। उहाँहरूलाई कसरी सेटल गराउने भन्नेबारे हेरिरहेको छु’, उनले भने।
यता, एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अल्मुताइरीको स्वास्थ्यमा समस्या देखिएको जानकारी दिए।
‘उहाँले एन्फासँग स्वास्थ्य समस्या देखाउनु भएको रहेछ। अहिले उहाँको बारेमा निर्णय गर्ने जिम्मेवारी महासचिव किरण राईलाई दिएका छौं। उहाँले नै निर्णय गर्नु हुनेछ। उहाँको विकल्प लिने नलिने महासचिवले निर्णय गर्नुहुन्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।