काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जवाफी पत्र पठाएका छन्।
एन्फा महासचिव किरण राईका अनुसार मुख्य प्रशिक्षक अल्मुताइरीले बिहीबार इमेलमार्फत् जवाफी पत्र पठाएका हुन्। तर, मुख्य प्रशिक्षक अल्मुताइरीले पठाएको जवाफी पत्रमा के उल्लेख छ भन्ने खुलेको छैन।
‘मुख्य प्रशिक्षक अल्मुताइरीले बिहीबार पत्र पठाउनु भएको छ। सो पत्रलाई हामी अध्ययन गरेर छलफल गर्छौं। अनि सार्वजनिक गरौंला,’ उनले भने।
एन्फाले गत साउन अन्तिम साता छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा जवाफ माग्दै हाल छुट्टीमा रहेका मुख्य प्रशिक्षक अल्मुताइरीलाई पत्र पठाएको थियो।
गत वैशाख १३ गते राष्ट्रिय टोलीका उपकप्तान रोहित चन्दसहित १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए। उक्त विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्टमा मुख्य प्रशिक्षकसमेत दोषी पाइएको भन्दै कतार फुटबल संघसँग सहकार्य गरेर उनको विकल्प खोज्न सुझाव दिइएको थियो।
उनी कतार फुटबल संघसँगको सहयोगमा नेपाल आएका हुन्। एन्फाको साउन २६ गते बसेको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव राईलाई दिएको थियो।
आगामी असोज ११ गते नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल्ने तय छ। तर उनी टोलीसँग हुने छैनन्।
एन्फाले उनको अनुपस्थितिमा प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ। उनी बिहीबार नै अमेरिकाबाट नेपाल फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।