काठमाडौं– काठमाडौंको फोहोर व्यवस्थापनको विषयलाई लिएर काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच सामाजिक सञ्जाल (फेसबूक)मा चलेको ‘दोहोरी’को विषय प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाह र धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)बीच भएको फेसबूकमा चलेको दोहोरीको प्रसंग उठाएका हुन्।
‘सम्बन्धित मन्त्री र काठमाडौं महानगरका मेयरले लाचारी व्यक्त गरिरहेका बेला धरानका मेयर आएर मैले काठमाडौं आउँदा फोहोरमैलाको समस्याको समाधान हुने भयो भनेर घोषणा गर्नुभएछ। यसमा बालेन र हर्कजीको फेसबूकमा दोहोरी नै चलेको देखियो,’ सांसद राईले भने।
ल्याण्डफिल साइटका स्थानीयसँग ४ बुँदे सहमतिपछि पनि फोहोर सिर्जना भएको उल्लेख गर्दै सांसद राईले स्थानीय जनताको समस्यालाई नजरअञ्दाज गर्दा समस्या देखिएको बताए।
काठमाडौंको फोहोर महानगरपालिकाले उठाउने हो कि सरकार (संघीय सरकार)ले उठाउनुपर्ने हो भन्ने विषयमा जनतामा अन्योल देखिएको सांसद राईको भनाइ छ।
‘कुरा के छ भने न महानगरले कुनै योजना प्रस्तुत गरेको देखिन्छ, न त सरकारले गरेको देखिन्छ। उही पुरानै पाराबाट फोहोरलाई माटोले पुरेर व्यवस्थापन गर्ने, नयाँ प्रविधि भित्र्याएर यसलाई समाधान गर्नेतर्फ कसैको ध्यानाकर्षण भएको देखिएन,’ सांसद राईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।