काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई केही समयअघि काठमाडौं आएका थिए। सामाजिक सञ्जालमा निकै सक्रिय रहेका उनले काठमाडौं आएसँगै यहाँको फोहोरको विषयलाई लिएर सामाजिक सञ्जालमा समय समयमा विभिन्न कुराहरु लेखिरहेका थिए।
लामो समयदेखि विभिन्न विवाद र व्यवस्थापनमा कमीका कारण काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको थिएन्। आइतबारबाट भने फोहोर व्यवस्थापनको काम पुनः सुरु भएको छ।
यसबीच बुधबार मेयर राईले सामाजिक सञ्जालमा आफू काठमाडौं नगएको भए फोहोर नउठ्ने रहेछ भन्दै पोस्ट गरेका छन् । ब्यंग्यात्मक शैलीमा धरानका मेयर राई लेख्छन्, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्से कम काम त सुरु गरे !’
राईले सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि उनको कमेन्टमा ब्यंग्यात्मक शैलीमै जवाफ फर्काएका छन्। बालेनले कमेन्ट बक्समा चुनाव पनि राईले नै छानेको ‘लौरो’ चिह्न लिएर जितेको भन्दै प्रतिक्रिया दिएका छन् । बालेन लेख्छन्, ‘हो नि, तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।’
राई र शाह स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चिन्हबाट गएको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए। दुई मेयरको ‘दोहोरी’मा प्रशंसक भने रमाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।